काठमाडौँ / नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै काङग्रेस प्रवक्ता शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताए ।
देशले सामाजिक रूपान्तरणको भारी बोक्न नसकेकाले राजनीति, प्रशासन, सिङ्गो समाज र मानिसहरूको मानसिकता रूपान्तरणका लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरूको झण्डाभन्दा बलियो बन्नुपर्ने प्रवक्ता शर्माको भनाइ थियो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको उनको दाबी थियो । पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुने बताए ।
Discussion about this post