काठमाडौं – भारतमा पुनः कोरोना भाइरसका संक्रमितहरु ह्वात्तै बढ्न थालेपछि कोरोना भाइरस विरुद्धको खोप – भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाइएको छ ।
अक्सफोर्ड – एस्ट्राजेनेका द्वारा विकसित एवं भारतमा उत्पादित कोभिशिल्ड नामक खोप निर्यातमा भारत सरकारले रोक लगाएको बताइएको छ । यसअघि नेपालमा अग्रपंक्तिमा रहेर काम गर्नेहरु र उच्च जोखिम समूहलाई दिइएको खोप सोही कोभिशिल्ड हो । तर भारतले खोप निर्यातमा रोक लगाएपछि भने नेपालमा यसअघि खोप लगाएहरुले पनि दोस्रो डोज खोप नपाउने चिन्ता बढेको छ ।
भारतीय विदेश मन्त्रालयले भारतमै कोरोना संक्रमितहरु पुनः बढिरहेकाले तत्काललाई खोप निर्यातमा प्रतिबन्ध लगाइएको हो । यस महिना भारतमा कोरोनाको नयाँ लहर शुरू भएर संक्रमितहरु दैनिक रुपमा बढिरहेका छन् । हाल त्यहाँ दिनहुँ ५० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् ।
बिबिसी हिन्दीका अनुसार अहिले भारतमै कोरोना खोपको उच्च माग छ । सो माग धान्नकै लागि भए पनि कम्तीमा अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन निर्यात गर्नेछैन ।
भारतले खोप निर्यात रोक्दा कोभ्याक्स योजना अन्तर्गत खोप प्राप्त गर्ने नेपाल लगायत १९० देशमा असर पर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभ्याक्स अन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य अनुसार अहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन भारत मार्फत नै पठाइएको छ ।
नेपालमा पनि भारतको अनुदानमा १० लाख खोप र कोभ्याक्स योजना अन्तरगत ३ लाख खोप यसअघि प्राप्त भइसकेको छ ।
Discussion about this post