सन्तोष मेहता/विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या एवं लगभग ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दामा भएको फैसलाको पूर्णपाठ तयार पारिएको छ । जिल्ला अदालत मोरङले झन्डै डेढ महिना लगाएर फैसलाको २ सय ८७ पृष्ठ लामो पूर्णपाठ तयार पारेको हो । न्यायाधीश भरत लम्सालको इजलासले गत असोज १९ गते मुद्दाको फैसला गरेको थियो । जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले फैसलाको पूर्णपाठ बुधबार रातिसम्म लगाएर तयार पारिएको जानकारी दिए । उनको अनुसार घटनाको सुरुदेखि अन्तिमसम्मका सबै विवरण पूर्णपाठमा उल्लेख गरिएको छ । मुद्दामा जोडिएका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश लम्सालको इजलासले मुद्दाको फैसला गरेको थियो । अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाइसकेको छ । मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा समेत कसूर कायम गर्दै अदालतले गोरेलाई सजाय पनि निर्धारण गरिसकेको छ । प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो । तस्करी गरेर दुबईबाट २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकालेपछि गायब बनाइएको आरोपमा गोरेको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाउँदै यातना दिएर सनमको हत्या गरेको हो । हत्याको अनुसन्धान गर्दा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको पत्ता लागेको दाबी सरकार पक्षको थियो । सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरियो । हत्यामा संलग्नलाई दोषी ठहर गरे पनि अदालतले सुन तस्करीमा संलग्न भनिएकाहरु सबैलाई सफाइ दिएको छ । प्रमाणका रुपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरु सबैले मुद्दामा सफाइ पाएका हुन् । श्रेस्तेदार राणाका अनुसार संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अभियुक्तमध्ये उच्च प्रहरी अधिकारीसहित ४८ जनाले सफाइ पाइसकेका छन् । जम्मा प्रतिवादी ७७ जना थिए । अहिलेसम्म १९ जना फरार नै रहेको जानकारी राणाले दिए ।
Discussion about this post