इनरुवा । सुनसरीको कोशी गाउँपालिकाको वडामा एकपछि अर्को भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढेको भन्दै स्थानीयहरु सडक आन्दोलनमा उत्रेका छन् । कोशी गाउँपालिका ३ नम्बर वडामा शुक्रबार एक घण्टा धर्ना, नाराबाजी र घेराउ गरेका स्थानीयहरु शनिबार वडा कार्यालय अगाडी पत्रकार सम्मेलन गरेकोमा आईतबार गाउँपालिका घेराउ गरेका छन् । आन्दोलनमा उत्रेकाहरुले कोशी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष सुलेमान मंसुरीले प्रधानमन्त्री रोजगार कार्यक्रम, विपन्न सुकुम्बासीका लागि आवाश कार्यक्रम र कोरोना पीडित तथा जोखिम परिबारका लागि सहयोग रकममा मनोमानी गरेको र आफ्नै आसेपासेलाई वितरण गरेको, केही जेलमा रहेको व्यक्तिको नाम राखेको तथा नाम भएकाहरुलाई थाहा नदिएको समेत आरोप लगाउदै कार्वाहीको माग गर्दै गाउँपालिका घेराउ गरेको छ । आईतबार गरेको धर्ना, नाराबाजी र घेराउ गरेका स्थानीयहरुले वडा अध्यक्ष मंसुरी माथि अनियमितताको आरोप लगाएका छन् । गाउँपालिका कार्यालय अगाडी कोशी ३ का पीडितहरुले अनियमितताको छानविन गर्नुपर्ने, दोषी वडा अध्यक्षलाई कार्वाही गर्नुपर्ने, पारदर्शिता गर्नुपर्ने सहितको माग राखी घेराउ गरेका हुन् । आईतबार गाउँपालिका घेराउ गरेकोमा आन्दोलनकारी र पालिका समर्थक बीचमा घम्साघम्सी भएको छ ।
सयौंको संख्यामा स्थानीयहरुले धर्ना र घेराउ गर्नुका साथै कोशी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा समेत तोडफोड गरेका छन् । टायर बालेर नाराबाजी गरेको र बार्ताको नाममा बोलाएर आफूलाई कुटपिट गरेको स्थानीय देवकुमार र राजकुमार यादवले आरोप लगाएका छन् ।
कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले सामान्य घटना भएको र अनियमितता भएको भए सम्बन्धीत निकायले छानविन र कार्वाही गनुपर्ने बाटो हुदाँहुदै आफ्नो कार्यकक्षमा होहल्ला गरेकोले सामान्य घम्साघम्सी भएको प्रतिकृया दिएका हुन् । उनले सुनियोजित रुपमा आफ्नो गाडीमा तोडफोड गरेको दावी गरेको छ । घटनापछि सशस्त्र र नेपाल प्रहरी परिचालन गरि घटना साम्य पारेको थियो । प्रहरीको बाकलो उपस्थितीका कारणले दिनभर लौकही बजार तनावग्रष्त बनेको थियो ।
गरिब विपन्नलाई दिनुपर्ने राहत, सहयोग र रोजगार सबै आफू र आफू निकटकालाई मात्रै दिएको अनि त्यसमापनि व्यापक अनियमितता गरेको भन्दै सयौको संख्यामा युवाहरुले कोशी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय विरुद्ध नाराबाजी गरेका छन् । कोशी गाउँपालिका ३ का वडा अध्यक्ष मंसुरीको सम्पती छानविन गर्नुपर्ने, मंसुरीलाई कार्वाही गर्नुपर्ने, भ्रष्टाचारीलाई कार्वाही गर, अनियमितता र ढिलासुस्ती बन्द गर , अत्याचार बन्द गर भन्दै आन्दोलनकारीले नाराबाजी गरेका छन् ।
स्थानीयहरुले गाउँपालिका भित्रै छानविन र दोषीलाई कार्वाही नभए बाध्य भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्टिय स्वर्तकता केन्द्र र जिल्ला प्रशासान कार्यालयमा उजुरी दिने तयारी गरेको दावी गरेका छन् । वडा कार्यालयमा आर्थिक हिनामिना भइरहेको बारेमा वडाले सुनुवाई नगरेकोले पालिकामा उजुरी दिने र त्यसमाथि छानबिन नभए तथ्यगत विवरण, प्रमाण समेतका आधारमा वडा अधयक्ष मंसुरी सहितको विरुद्ध आयोगमा निवेदन गर्ने जनाएको छ ।
यता कोशी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष सुलेमान मंसुरीले रोजगार कार्यक्रम, विपन्न सुकुम्बासीका लागि आबाश कार्यक्रम र कोरोना पीडित तथा जोखिम परिबारका लागि आएको बजेट र रकममा कुनै मनोमानी र हिनामिना नगरेको प्रतिकृया दिए । मंसुरीले आफ्नो कोही पनि आसेपासेलाई वितरण नगरेको समेत दावी गरेका हुन् । आफ्नो वडामा १७० जनाको लागि मात्रै बजेट आएकाले सबैलाई पुरयाउन नसकेको कारण पनि आरोप आएको हुन सक्ने बताए ।
यसअघि गरिब विपन्नका लागि आएको आबाश कार्यक्रममा पक्षलाई ५० हजार रुपैयाँ दिनुपर्नेमा ११ हजारदेखी १५ हजार रुपैयाँसम्म कट्टा गरेर मात्रै दिएपछि चरम भ्रष्टाचार भएको बाहिर आएको भन्दै आन्दोलन भएकाले कोशी २ का वडा अध्यक्ष द्रोपती साह निलम्बिनमा परेपछि स्थानीयहरुको ध्यान वडा नम्बर ३ को भ्रष्टाचार तर्फ गएको हो ।त्यसैगरी आन्दोलनमा सहभागी भएकाहरु मध्ये ५ जना प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले आन्दोलनमा सहभागी भएका स्थानीय राजकुमार यादव, देवकुमार यादव, ब्रहमदेव यादव, विकास यादव र अलिम मंसुरीलाई गिरफ्तार गरिएको हो ।
स्थानीयहरुले सत्ता र शक्तिको दुरुपयोग गरेर निर्र्दोष स्थानीयहरुलाई गिरफ्तार गरेको दाबी गरेका छन् भने प्रहरीले गाउँपालिकाको कार्यकक्षमै अभद्र व्यवहारमा उत्रेकाले गिरफ्तार गरेको प्रतिकृया दिएको छ ।
Discussion about this post