सुनसरी । यति बेला सुनसरी जिल्लाको १२ वटै स्थानीय तहमा विभिन्न दलसँग आवद्ध रहेका राजनीतिकर्मी, जनप्रतिनिधि र स्थानीय जनताहरुमा छुट्टै रौनक देखिन थालेका छन् ।
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै सुनसरी जिल्लाका राजनीतिकर्मी, जनप्रतिनिधि र स्थानीय जनताहरुमा छुट्टै रौनक देखिएको हो ।
सुनसरी जिल्लामा हाल कायम रहेका १२ वटा स्थानीय तहमा भइरहेको राम्रा नराम्रा कामको चर्चा सुरु भएसँगै स्थानीय सर्वसाधारण जनता तथा मतदाताहरु उत्साहित देखिएका छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन हुने आशंका हटेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिए ।
उनले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा समेत नयाँ उत्साह थपिएकामा आफु झन उत्साहित भएको बताए ।
उता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णयको समेत उनले स्वागत गरेका छन् ।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार सञ्चालन गर्दै आएका जनप्रतिनिधिलाई निर्वाचनको घोषणाले खुसी तुल्याएको बताइन् ।
उनले प्रदेशप्वाइन्ट डटकमसँग कुराकानी गर्दै भने जनतामाझ जानु नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै अब वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जनताले विगतको कामको मूल्याङ्कन गरी आफ्नो मत जाहेर गर्न पाउनु सबैका लागि खुसीको कुरा भएको उनले जानकारी दिइन् ।
स्थानीय तहको निर्वाचन घोषणाले मुलुकलाई लोकतान्त्रिक विधिमा हिँडाउँदै संविधानको रक्षा गर्नमा सहयोग समेत पुगेको उनको कथन छ ।
त्यस्तै निर्वाचनको घोषणासँगै सुनसरीको १२ वटै स्थानीय तह र १ सय २४ वटै वडामा राजनीतिक दलले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । स्थानीय तह निर्वाचनको घोषणासँगै वडा तथा टोलटोलमा पार्टीको सङ्गठन सुदृढीकरण अभियान सञ्चालन सुरु गर्न लागिएको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष भगिरथ खत्वेले जानकारी दिए ।
Discussion about this post