सन्तोष मेहता/विराटनगर ।
वन्यजन्तु र चराचुरुंगीका कारण विराटनगर विमानस्थल असुरक्षित बनिरहेको छ । विमानस्थलमा जनावर र चराचुरुंगीको चहलपहललाई खतराको रूपमा लिइन्छ । स्याल, जंगली कुकुर, गोरो लगायतका जंगली जनावर र विभिन्न प्रजातिका चराको चहलपहल बढ्न थालेपछि विराटनगर महानगरपालिका–४ मा रहेको विमानस्थलमा हवाई दुर्घटनाको जोखिम बढेको हो । हिजो साँझ चरा (लाटोकेसेरो) ठोक्किएपछि विराटनगरबाट काठमाडौंका लागि ३० जना यात्रु लिएर उडेको गुण एयरलाइन्सको जहाजलाई विराटनगर नै फर्काइएको थियो । जहाजमा रहेका ३० यात्रु र तीन जना चालकदलका सदस्यसहित ३३ जना भने सकुशल छन् । जहाजको देव्रे इन्जिनमा ठोक्किएको लाटोकोसेरो भने मरेको छ । विमानस्थलनजिकका बासिन्दा विनोद शर्माले धावनमार्ग वरपरको काँसघारी र झाडीमा लुकेर बस्ने ठूलो संख्यामा रहेका वन्यजन्तु र चराचुरुंगीले उडानमा अवरोध गर्दा जहाज दुर्घटना भएर ठूलो क्षति बेहोर्नु पर्ने अवस्था रहेको बताउनु भयो । धावनमार्गनजिक रहेको केराघारी भने यसअघि नै हटाइसकिएको छ । केराघारीभित्र बस्दै आएका नीलगाईलाई पनि गत भदौमै स्थानान्तरण गरिसकिएको थियो । जंगली जनावर तथा चराले उडान र अवतरणका क्रममा जहाजलाई अवरोध गर्ने विमानस्थल प्रशासनले जनाएको छ । विमानस्थलका अनुसार साँझ परेपछि आहार (खाने कुरा)को खोजीमा निस्किने वन्यजन्तु र चराको चहलपहल धावनमार्ग वरपर बढ्ने गर्छ । जंगली जनावर र चराको गतिविधी बढेसँगै वरपरको झाडी हटाएर विमानस्थललाई सुरक्षित बनाउने प्रयास भइरहेको जानकारी खरेलले दिनु भयो । उहाँका अनुसार विमानस्थललाई झाडीरहित बनाउने अभियान चलाइएको छ । पाँचवटा एयरलाइन्सका जहाजले काठमाडौं–विराटनगर दैनिक २२ वटासम्म उडान भर्दै आएका छन् । खरेलका अनुसार बुद्धले नौ, यतिले छ, श्रीले तीन र शौर्य तथा गुण एयरलाइन्सका जहाजले दुई–दुईवटा उडान भर्ने तालिका छ ।
Discussion about this post