विराटनगर ।
प्रदेश १ मा पेट्रोलियम पदार्थ (इन्धन)को आपूर्ति नियमित भएको छ । ढुवानी व्यवसायीले कमिसन कम भएको भनेर आन्दोलन सुरु गरेपछि नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्दा बजारमा अभाव भएको थियो । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाए पनि त्यसवापतको कमिसन नदिएपछि डिलर्स एशोसिएसनको अगुवाइमा ढुवानी व्यवसायी आन्दोलित बनेका थिए । पेट्रोलको मुल्य बढेसँगै व्यवसायीले त्यसवापतको कमिसन उपलब्ध गराइनुपर्ने माग गरेका थिए । पेट्रोलियम पदार्थको अन्योलता तत्काललाई हटेपछि उपलब्धता सहज भएको हो । व्यवसायीले डिपोबाट ढुवानी सुरु गरेपछि आपूर्ति सहज बनेको छ । प्रदेशका अधिकांश जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनिसकेको कोसी पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष दुर्गाबहादुर बस्नेतले जानकारी दिनु भयो । निगमबाट धमाधम पेट्रोलियम पदार्थ उठाएर पम्मसम्म पुर्याउन थालिएका कारण अब अभाव नहुने उहाँको भनाइ छ । आन्दोलनमा उत्रिएका व्यवसायीले कमिसनको कुरा मिलाउन निगमलाई १५ दिनको समय दिएर पेट्रोलियम ढुवानीलाई नियमित गरेको बस्नेतको भनाइ छ । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष ध्रुव सिग्देलका अनुसार प्रतिलिटर पेट्रोलमा १५ र डिजेलमा १५ पैसा कमिसन बढाउनुपर्ने माग गरिएको थियो । निगमले डिजेलमा प्रतिलिटर तीन रूपैयाँ र पेट्रोलमा चार रुपैयाँ ४५ पैसा कमिसन दिनुपर्ने माग राखिएको सिग्देलले बताउनु भयो ।
Discussion about this post