राजविराज । हाेसियार, अब तपाईंपनि सचेत हुनुस् नत तपाईंलाई पनि महिलाहरूले चप्पल हान्न बेर लगाउदैन् ।त्यस्तै भयाे मधेस प्रदेश स्थित कार्यपालिका निर्वाचनको क्रममा सप्तरीको बलान बिहुल गाउँपालिकाकी नवनिर्वाचित एक महिला सदस्यले नवनिर्वाचित वडाध्यक्षमाथि चप्पल प्रहार गरेकी छन् ।
बलान बिहुल गाउँपालिका २ की वडा सदस्य उर्मिलादेवी गुप्ताले वडा ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकी हुन् । वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वाचित भएकी जनप्रतिनिधि हुन् भने वडाध्यक्ष झा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।बिहीबार बलान बिहुल गाउँपालिकामा कार्यपालिकाको निर्वाचनको समय तोकिएको थियो । कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र जनमत पार्टीले गठबन्धन गरेको थियो ।
कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कसी चप्पलले आक्रमण गरेपछि स्थिती तनावग्रस्त बनेको गाउँपालिका अध्यक्ष खेमचन्द यादवले बताए ।
‘वडा सदस्यले वडाध्यक्षमाथि चप्पल प्रहार गरेपछि स्थिति तनावग्रस्त र उत्तेजक भएको थियो’ गाउँपालिका अध्यक्ष यादवले भने, ‘चप्पल प्रहार गर्ने वडा सदस्यलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि स्थिति सहज भएको थियो ।’
बलान बिहुल गाउँपालिका वडा ४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले आफूमाथि बिनाकारण वडा सदस्य गुप्ताले आक्रमण गर्दै दुर्व्यवहार गरेको बताए ।
इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक बालेष्टर सिंहले कार्यपालिका निर्वाचनको क्रममा विवाद भई वडाध्यक्षमाथि चप्पल प्रहार हुँदा आरोपित वडा सदस्य गुप्तालाई बिहीबार नै नियन्त्रणमा लिएको बताए ।
शुक्रबार दिउँसो पालिकाका जनप्रतिनिधिहरुबीच इलाका प्रहरी कार्यालय कडोरवनामा छलफल भइरहेको र जाहेरी आएपछि थप प्रक्रिया अघि बढाइने बताए ।
बलान बिहुल गाउँपालिकामा जनमत पार्टीका खेमचन्द्र यादव अध्यक्षमा जितेका हुन् । उनले अमर्यादित र असोभनीय कार्य गर्ने वडा सदस्य गुप्तालाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।
Discussion about this post