विराटनगरः हालै भएको स्थानीय तहको निर्वाचनमा बहुमत सिट जितेको नेपाली कांग्रेस आन्तरिक विवादका कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ ।
गाउँपालिका अध्यक्षमा डा.शेखर कोइराला निकट जीतनारायण थापा सहित उपाध्यक्ष र ५ वडा जितेको कांग्रेस कार्यपालिका निर्वाचनमा भने पराजित भएको हो । ३७ जनप्रतिनिधिमध्ये २२ जना कांग्रेसबाट, नेकपा एमालेबाट १० जना र माओवादी केन्द्रबाट ५ जना निर्वाचित भएका थिए ।
तर, कार्यपालिका निर्वाचनमा डा.कोइराला पक्षले एकलौटी उम्मेदवार बनाएको भन्दै कांग्रेसको अर्को समूहले बागी उम्मेद्वारी दिएको थियो । जसका कारण निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार ३ जना, माओवादी केन्द्रका १ जना र एमालेका १ जना निर्वाचित भएका छन् । कांग्रेसका आधिकारिक उम्मेदवार १ जनाले मात्र जितेका छन् ।
कार्यपालिकामा निर्वाचितबाट ४ जना र अल्पसंख्यक तथा दलितबाट २ जनाको लागि निर्वाचन भएको थियो । महिला कोटामा एमालेका १, माओवादीका १, कांग्रेसका बागी १ र एक जना कांग्रेस उम्मेदवार विजयी भएका छन् । अल्पसंख्यक तथा दलित कोटामा दुवै जना बागी उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ माओवादीकी पुष्पादेवी भगत २२ मत र एमालेकी रेखाकुमारी सरदार २२ मत ल्याएर विजयी भए । कांग्रेसमा संस्थापन पक्षकी सपना कोइराला १९ मत पाएर विजयी बन्दा बागी उम्मेदवार चन्द्रकला चौधरी २५ मत ल्याएर विजयी भइन् । कांग्रेसका मिथिला आचार्य १८ र मीनादेवी विश्वास १४ मत ल्याएर पराजित भएका छन् ।
दलित तथा अल्पसंख्यक कोटामा कांग्रेसका बागी उम्मेदवारहरु किरणकुमार चौधरीले २२ र बनुलाल उराँवले २२ मत ल्याएर निर्वाचित भए । काँग्रेसका आधिकारिक उम्मेदवार जयप्रकाश मण्डल र जयप्रकाश सरदारले १३–१३ मत पाएका थिए ।
Discussion about this post