मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन् । हावाहुरीकै कारण जिल्लामा सबैभन्दा बढी केराखेतीमा क्षति पुरयाएकाे छ । हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानको गुनासो छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती हावाहुरीले ढालेको छ ।भने एक दर्जन बढी किसानका केरा खेतीमा नाेक्सान पुगाएकाे टिकापुर ७का किसान कृत ठकुल्लाले बताएका छन। केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन् । टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ । हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ ।
यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । “लहरे तरकारी बाली सबै ढालेको छ । लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ”, टीकापुर ८ बनगाउका किसान कृष्णगाेपाल चौधरीले बताए, “तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ ।”हावाहुरीका कारण क्षति भएकाे विवरण आइरहेकाले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहत स्वरुप कार्यक्रम ल्याउने टीकापुर नगरउपप्रमुख खड्कबहादुर शाहले बताए । “जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्”, उनले भने, “आज कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ ।”हावाहुरीसँगै वर्षा भएपछि भने यहाँ शीतलता महसुस भएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएका नागरिकले वर्षा भएपछि केही शीतलता महसुस गरेका छन् । गर्मी बढेपछि यश क्षेत्र का बिद्यालय बन्द गरेका छन ।
Discussion about this post