इनरुवा । नेपाली कांग्रेसका संस्थापक तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद (वि.पी.) कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँ कार्यसमितिले बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम भोक्राहा नरसिंह -४ स्थित जामिया मदरसा नजिकको इदगाह मैदानमा सम्पन्न भएको हो।
वि.पी. कोइरालाले नेपालको राजनीतिमा उल्लेखनीय योगदान पुर्याएका थिए। प्रजातन्त्रको सशक्त आवाज र नेपाली जनताको पक्षमा लडेका यो महान् नेता नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेर देशको राजनीतिक र सामाजिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरे। उनको आदर्श र सिद्धान्तलाई निरन्तरता दिने उद्देश्यले यो वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।
वृक्षारोपण कार्यक्रममा २०० भन्दा बढी उन्नत जातका बिरुवा रोपिएका छन्,वृक्षरोपण कार्यक्रमले यस क्षेत्रको वातावरणीय सन्तुलनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। कार्यक्रम नेपाली कांग्रेस भोक्राहा नरसिंहका उपसभापति मुस्तक मियाको अध्यक्षतामा र कोशी प्रदेश सभा सदस्य माननीय इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।
साे कार्यक्रममा नेपाल मुस्लिम संघ सुनसरीका सभापति तथा भोक्राहा नरसिंह वडा नं. ४ का अध्यक्ष हारुन अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ४ का सहकारी विभाग प्रमुख राजेन्द्रप्रसाद मेहता, नेपाली कांग्रेस भोक्राहा नरसिंहका सचिव कृपाराम मेहता, सहसचिव तथा नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन, भोक्राहा नरसिंह वडा नं. ६ का अध्यक्ष सराजुद्दिन अन्सारी, नेपाली कांग्रेस भोक्राहा नरसिंह वडा नं. ६ का सभापति जमालुद्दिन मन्सुरी लगायतका नेताहरू कार्यक्रममा सहभागी थिए।
Discussion about this post