दिपेन्द्र यादव/सुनसरी। कोशी प्रदेशमा पछिल्लो एक सातामा डेंगु संक्रमितहरुको संख्या बढ्न थालेको छ। अझ पछिल्लो समयमा भएको वर्षाका कारण डेंगु संक्रमितहरुको संख्या अझ बढ्ने सम्भावना देखिएको छ।
सुनसरी जिल्लाका अस्पतालहरु, जस्तै **वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इटहरी अस्पताल, र इनरुवा अस्पतालमा पछिल्लो एक सातामा भएको स्वास्थ्य परीक्षणको क्रममा अधिकांश ज्वरो आएका बिरामीहरुमा डेंगु संक्रमण देखिएको छ। यस्तै विराट टिचिङ अस्पताल, नोबेल मेडिकल कलेज, र विराटनगर मेडिकल कलेज (विएमसी) लगायत कोशी प्रदेशका मुख्य स्वास्थ्य संस्थाहरुमा विभिन्न जिल्लाहरुबाट उपचारका लागि आएका अधिकांश बिरामीहरुमा डेंगु संक्रमण देखिएको छ।
सुनसरी सदरमुकाम इनरुवामा पनि डेंगु संक्रमितहरुको संख्या बढिरहेको छ। केही दिन यता डेंगु ज्वरोका कारण थलिने बिरामीहरुको संख्या थपिँदै गएको छ।
त्यस्तै माेरंगकाे विराटनगरमा पछिल्लो समय डेंगु संक्रमण ह्वात्तै बढेको छ। साउनयता बिरामीको संख्या क्रमशः बढ्दै गइरहेको छ। साउनमा ३०५ जना शंकास्पद बिरामीको परीक्षण गर्दा २७ जनामा डेंगु पोजेटिभ देखिएको थियो। भदौमा यो संख्या अझै बढेर १०८० शंकास्पद बिरामीको परीक्षण गर्दा १२८ जनामा पोजेटिभ देखिएको थियो। असोजको पहिलो हप्तामा मात्र २६ जनालाई डेंगु पोजेटिभ देखिएको महानगरपालिका स्वास्थ्य शाखाका तथ्यांक अधिकृत दिपक भट्टराईले जानकारी दिएका छन्।
वर्षात्पछि लामो समय खडेरी लाग्दा जोखिम बढेको छ। जमेको पानी लामो समय रहँदा डेंगु संक्रमणको जोखिम उच्च हुने गर्छ। सोमबारबाट पुनः पानी परिरहेकोले असोजभर जोखिम कायम रहने स्वास्थ्यकर्मीहरुले बताएका छन्।
डेंगु भाइरसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु अत्यावश्यक छ। सुख्खा मौसममा जम्ने पानीका स्रोतहरु पहिचान गरी नष्ट गर्नुपर्ने आवश्यकता रहेको छ। यसका लागि घरभित्रै प्रयोग हुने कुलर, गमला, फ्रिज, एसी जस्ता उपकरणमा ध्यान दिनुपर्ने हुन्छ।
डेंगु भाइरस एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ, जुन प्रजातिका लामखुट्टे जमेको पानीमा बस्न रुचाउँछन्। यद्यपि, विराटनगर महानगरपालिकाले लार्भा खोज र नष्ट गर्ने अभियान चलाइरहे पनि, मनसुनको कारणले पानी जम्ने ठाउँहरुमा पुनः जोखिम रहिरहने देखिएको छ।
त्यस्तै रंगेली नगरपालिकामा समेत डेंगु संक्रमण फैलिएको छ।
महानगरले हरेक वडामा जनप्रतिनिधिहरु, वडा सदस्य, स्वयमसेविका, र स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर सचेतना अभियान सञ्चालन गरिरहेको दावी गरेको छ। तर दशैं अगावै पूर्णरुपमा सक्रिय भएको मनसुनले जोखिम अझै कायम रहनेछ।
Discussion about this post