सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित थानगाछीको शान्त जनजीवनलाई त्यस बेलाको रातले केही बेर हलचल बनायो, जब एक गोप्य सूचनाका आधारमा प्रहरीको बिशेष टोलीले सीमावर्ती भित्री सडकमा लागू औषध ओसारपसार भइरहेकाको शंका गर्दै चेकजाँच थाले।
हिजो राति २०:४५ बजेको समय थियो, जब को ३७ प ८६३१ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको देखिएपछि प्रहरी टोली सतर्क बन्यो। तर, प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालक मोटरसाइकल छाडेर अन्धकारमा हराए। त्यस मोटरसाइकलमा राखिएको एउटा बोरा र जेब्रा झोलामा लुकाइएका ४०.४८ किलोग्राम गाँजा बरामद गरियो।
पक्राउ नगरी छुटेको त्यो एकजनाको खोजी जारी रहँदै गर्दा प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न अर्का मोटरसाइकल (प्र.१–०२–०४३ प ३०६३) लाई ऐ.ऐ. यादव टोल नजिकै रोके। चेकजाँच गर्दा त्यस मोटरसाइकलमा समेत बोरा र जेब्रा झोलामा प्याक गरिएको ६२.२७ किलोग्राम गाँजा फेला पर्यो। सो घटनासँग सम्बन्धित मोटरसाइकल चालक, धनकुटा सांगुरीगढी गाउँपालिका–९ निवासी २२ वर्षीय सलिन राईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
यसरी एकै साँझ दुई फरक मोटरसाइकलबाट बरामद भएको कुल १०२.७५ किलोग्राम गाँजाले सुरक्षा निकायका लागि मात्र होइन, समाजका लागि पनि गम्भीर चिन्ताको विषय बनेको छ।
यता सुनसरी प्रहरीले पछिल्लो समय लागू औषध सम्बन्धी गतिविधिमा संलग्न समूहहरूलाई नियन्त्रणमा लिन सीमा क्षेत्रमा आफ्नो उपस्थिति तीव्र बनाएको छ। विशेषतः भारतसँग जोडिएका खुला सिमानाहरूले यस्तो गैरकानुनी कारोबारलाई सहज बनाएको पृष्ठभूमिमा, प्रहरीको तिव्र सक्रियता सराहनीय देखिन्छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले उक्त घटनामा संलग्न फरार अभियुक्तको खोजी तीव्र पार्दै, गाँजा ओसारपसारमा संलग्न आपराधिक सञ्जालविरुद्ध बृहत अनुसन्धान प्रारम्भ गरिसकेको जनाएको छ।
‘गाँजा गाँसिएको बाटो’: प्रहरीको नजरमा
लामो समयदेखि लागू औषध ओसारपसारको ट्रान्जिट बन्दै आएको सुनसरीको विभिन्न भित्री मार्गहरूमा पछिल्लो समय प्रहरीले निगरानी बढाएको छ। गाँजा जस्तो घरेलु लागू औषधको प्रयोग र ओसारपसारले युवाहरूलाई दुर्गति तर्फ डोर्याउने खतरा बढेको भन्दै स्थानीय बासिन्दाहरूले समेत यस्ता कारवाहीमा प्रहरीलाई साथ दिने प्रतिवद्धता जनाएका छन्।
समाजलाई स्वच्छ, सुरक्षित र अनुशासित बनाउने उद्देश्यले प्रहरीले सीमावर्ती क्षेत्रमा देखाएको सक्रियता अझ बृहत र प्रभावकारी बनोस भन्ने अपेक्षा राखिएको छ।










Discussion about this post