इनरुवा । सुनसरी जिल्लाको गढी गाउँपालिका अन्तर्गतका कृषकहरूको जीवनशैलीमा प्रगतिको नवीन आशा जगाउने उद्देश्यले गढी गाउँपालिकाले कृषि औजार वितरण गरेको छ।
गाउँपालिकाको कृषि शाखाको आर्थिक सहयोगमा गढी वडा नम्बर १ र ५ का किसानहरूलाई हाते ट्याक्टर, बोरिङ, पम्पी सेट लगायतका आधुनिक कृषि सामग्रीहरू वितरण गरिएको हो।
गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्काले जानकारी गराएअनुसार, गढी–१ मधेलीमा रहेको ‘दलहन पकेट समिति’ लाई हाते ट्याक्टर, सिचाइका लागि बोरिङ र पम्पी सेट प्रदान गरिएको छ। साथै, ‘मकै पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत ‘सफल महिला कृषि सहकारी संस्था लिमिटेड’ लाई पनि यिनै सामग्रीहरू वितरण गरिएको उनले बताए।
त्यसैगरी, गढी–५ का १६ जना कृषकहरूलाई व्यक्तिगत रूपमा बोरिङ र पम्पी सेट प्रदान गरिएको छ।
“कृषिमा प्रविधिको प्रयोगले उत्पादन वृद्धि गर्न सकिन्छ, किसानलाई आत्मनिर्भर बनाउँछ,” प्रमुख प्रशासकीय अधिकृत खड्काको भनाइ छ।
कृषि औजार प्राप्त भएपछि स्थानीय कृषकहरू अत्यन्त आनन्दित र उत्साहित देखिएका छन्। उनीहरूका अनुसार यस्ता सहजीकरणहरूले खेतीपातीमा समय, श्रम र खर्च बचत हुनुका साथै उब्जनीमा गुणात्मक सुधार आउनेछ।
गढी गाउँपालिकाले किसानलाई आधुनिक प्रविधिमैत्री बनाउँदै लैजाने दीर्घ लक्ष्यसहित कृषि क्षेत्रमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।










Discussion about this post