इटहरी । न्यायालयको मूल उद्देश्य– न्यायमा सहज पहुँच, समयमै निष्पक्ष निर्णय र जनआस्थाको संरक्षण। यसै लक्ष्यलाई आत्मसात् गर्दै जिल्ला अदालत सुनसरीले चालु आर्थिक वर्षमा मुद्दा दर्ता र फर्छ्यौटका दृष्टिकोणले ऐतिहासिक प्रगति हासिल गरेको छ।
अदालतका श्रेस्तेदार टेकेन्द्र विरजंग राणाका अनुसार, चालु आर्थिक वर्षको असार २६ गतेसम्म अदालतमा कुल १० हजार १६ मुद्दा दर्ता भइसकेका छन् भने ५ हजार ९ सय ९३ मुद्दा फर्छ्यौट गरिएका छन्। यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। अघिल्लो आर्थिक वर्षमा ९ हजार ३२७ मुद्दा दर्ता भएका थिए भने ५ हजार १४१ मुद्दा फर्छ्यौट भएका थिए।
मुद्दाको चाङ, न्याय सम्पादनमा फड्को
२०७८ साल साउन १ देखि २०७९ असार २६ सम्मको अवधिमा मात्र ५ हजार ८७० नयाँ मुद्दा दर्ता भएका छन्, जुन विगतका वर्षहरू भन्दा धेरै हो। यसमा अघिल्लो वर्षको बाँकी रहेका ४ हजार १४६ मुद्दा समेत जोडिँदा अदालतमा कुल १० हजार १६ मुद्दा पुगेको जानकारी गराइएको छ।
अदालतमा हाल दैनिक ८० देखि १०० मुद्दासम्म दर्ता हुने क्रम जारी छ। श्रेस्तेदार राणाका अनुसार, यो वर्षको अन्त्यसम्ममा मुद्दा संख्या ११ हजारको हाराहारीमा पुग्ने सम्भावना रहेको छ।
न्याय सम्पादनमा गुणात्मक सुधार
एक नं. न्यायाधीश मुकेश उपाध्यायका अनुसार अदालतले केवल संख्यात्मक वृद्धि मात्र होइन, गुणस्तरीय न्याय सम्पादनमा समेत उल्लेखनीय सुधार ल्याएको छ।
“हामी सेवा प्रवाहलाई छिटोछरितो, न्यायिक निर्णयलाई समयमै र निष्पक्ष बनाउन प्रयत्नशील छौँ,” उनले भने।
“अब अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा छैनन्, पछिल्लो दुई वर्षका मात्र ८८ मुद्दा बाँकी रहेका छन्।”
लागूऔषध र सम्बन्धविच्छेदका मुद्दा गम्भीर अवस्थामा
अदालतले सार्वजनिक गरेको प्रगति विवरण अनुसार, लागूऔषध सम्बन्धी मुद्दा र सम्बन्धविच्छेदका घटनाहरू भयावह रूपमा बढेका छन्।
- लागूऔषध सम्बन्धी ४५१ मुद्दा दर्ता, २३७ फर्छ्यौट, २१४ मुद्दा बाँकी।
- सम्बन्धविच्छेदका १२१६ मुद्दा दर्ता, १२०० फर्छ्यौट, १६ मुद्दा बाँकी।
- अंशसहितको सम्बन्धविच्छेद: २२९ मुद्दा, ९७ फर्छ्यौट, १३२ बाँकी।
सम्बन्धविच्छेदका प्रमुख कारण
- बहुविवाह,
- बैदेशिक रोजगारीबाट सिर्जित दूरी,
- कम उमेरमा विवाह,
- पारिवारिक कलह,
- र पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग तथा हदबढी स्वतन्त्रताको मोह मुख्य कारण देखिएका छन्।
न्यायाधीश उपाध्यायले चिन्ता व्यक्त गर्दै भने,
“सम्बन्ध विच्छेद आजकाल फेसन जस्तै बनेको छ। सम्बन्ध टुट्दा दम्पती छुट्टिन्छन्, तर सँगै रहेका बालबालिका अभिभावक गुमाउँछन्, दाजुभाइ छुट्टिन्छन्, समाज बिखण्डनतर्फ लम्किन्छ।”
अन्य प्रमुख मुद्दाहरूको अवस्था
- बैंकिङ कसुर: ४४७ मुद्दा दर्ता, २६३ फर्छ्यौट, १८४ बाँकी।
- जबरजस्ती करणी: ८७ मुद्दा दर्ता, ४० फर्छ्यौट, ४७ बाँकी।
न्यायिक सुशासन र जनआस्थाको जग मजबुत बनाउँदै
न्यायाधीश उपाध्यायका अनुसार, अदालतले सकेसम्म मेलमिलापमै समाधान खोज्ने प्रयास गर्दछ। तर जब समाधान सम्भव हुँदैन, तब मात्र निर्णयको बाटो रोजिन्छ।
उनले भने,
“हामी छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादनमार्फत न्यायमा सबैको सहज पहुँच सुनिश्चित गर्न, न्यायिक सुशासन प्रवर्द्धन गर्न र न्यायपालिकाप्रतिको जनआस्था बलियो बनाउन निरन्तर प्रयासरत छौँ।”
न्यायधिशको सशक्त टोली
हाल जिल्ला अदालत सुनसरीमा ११ जना न्यायाधीश कार्यरत छन्, जसले न्याय सम्पादनको गति र गुणस्तर दुवैमा निरन्तर सुधार गरिरहेका छन्।
यता न्याय अदालतको ढोका ढिलो खुल्ने, न्याय ढिलो हुने भन्ने जनगुनासोलाई चुनौती दिँदै, सुनसरी जिल्ला अदालतले देखाएको गति, पारदर्शिता र प्रतिबद्धता सन्दर्भीय छ। न्यायप्रणालीप्रतिको विश्वास बलियो बनाउने यस्ता सुधारहरू देशभरि नै अनुकरणीय बन्न सकून्।










Discussion about this post