सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-११, हिरापुर बैरेजस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज बैधनाथ दास र प्रहरी जवान संतोष यादवको निलम्बनसंगै त्यहाँका सबै प्रहरी कर्मचारी फेरिएको छ ।
हिरापुरका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक बैद्यनाथ दासले प्रहरी जवान यादवमार्फत तस्करसँग पैसा मागेको आरोपमा शुक्रबार निलम्बनमा परेका छन् । सई दास र प्रहरी जवान यादवको निलम्बनसंगै जिल्ला प्रहरी कार्यालय सर्लाहीले हिरापुरका सम्पूर्ण प्रहरी युनिट नै परिवर्तन गरेको छ ।
विवाद भएको ठाउँमा प्रहरी टोलि फेरिदा राम्रो हुन्छ भनेर युनिट नै परिवर्तन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए । हालसम्म हिरापुर पठाइने इन्चार्जको टुंगो नलागेकोले तत्कालका लागि इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत असई तुल्सी राउतलाई इन्चार्जको रुपमा त्यहाँ पठाइएको डिएसपी राईले बताए ।
इलाका प्रहरी कार्यालय हिरापुरमा इन्चार्जको रुपमा सई एकजना, बरिस्ठ हवल्दार एकजना, हवल्दार ४ जना, बरिस्ठ जवान एकजना र जवान ३ जना गरि जमा १० जना प्रहरी कर्मचारी कार्यरत थिए ।
गत असार ३२ गते तस्कर राजिप यादवको तस्करीका सामान समातेर भन्सारमा बुझाएकै कारण उनले ३ महिना पहिलाकै अडियो रेकर्ड अहिले सार्वजनिक गरेर आफूलाई फसाएको निलम्बित सई दासको दाबी छ ।










Discussion about this post