इनरुवा । सुनसरीमा गर्मीको प्रकोप चुलिँदै जाँदा मानिसहरू शीतलता खोज्दै कोसी कटान क्षेत्रतिर आकर्षित हुन थालेका छन्। सप्तकोसीको सिपेज पानीले सधैं चिसो स्पर्श दिने कोसी गाउँपालिका–४ स्थित यो क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ।
जिल्लाको सदरमुकाम इनरुवा लगायतका शहरी क्षेत्रमा तापक्रमको असरले जनजीवन प्रभावित हुँदा अधिकांश मानिस घरभित्रै सीमित हुन थालेका छन्। यता ग्रामीण क्षेत्रमा भने रुखको छायाँ वा खोला किनारमा समय बिताउने चलन बढेको छ। त्यही सन्दर्भमा कोसी कटान क्षेत्र गर्मीयाममा विश्राम र शीतलताका लागि आदर्श स्थलको रूपमा लोकप्रिय हुँदै गएको हो।
स्थानीय व्यवसायी अरुण मण्डलका अनुसार, सप्तकोसी नदीको कटान क्षेत्रबाट बग्ने सिपेज पानी अत्यन्त चिसो हुने भएकाले यहाँ नुहाउन आउनेको भिड दिन प्रतिदिन बढ्दै गएको छ। उनका अनुसार, दैनिक १०० देखि ५०० सम्म मानिसहरू गर्मी छल्न यहाँ पुग्ने गरेका छन्।
स्थानीय रुपेश झा भन्छन्, “जस्तोसुकै कडा घाम लागे पनि यहाँको पानीमा एक किसिमको स्वाभाविक चिसोपना हुन्छ, जुन मानिसलाई तान्छ।”
केवल स्थानीय मात्र होइन, लामो यात्रा तय गरेका ट्रक र मालवाहक सवारीका चालकसमेत यहाँ आएर नुहाउने, विश्राम लिने गरेको स्थानीय बिरेन्द्र यादवको भनाइ छ।
स्थानीय सरोकारवालाहरूले यो क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटनको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको औंल्याएका छन्। उनीहरूको भनाइ छ— “सुनियोजित योजना र पूर्वाधार विकास भए कोसी कटानले आन्तरिक पर्यटनमा ठूलो योगदान दिन सक्छ।”
गर्मीको प्रतिकूलताबीच एउटा प्राकृतिक राहत बन्दै आएको कोसी कटान, अब पर्यटकीय रूपान्तरणको प्रतीक्षामा छ।










Discussion about this post