काठमाडौं — नेपालमा फेसबुक, वाट्सएप, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल बन्द हुने घोषणा पछि सेवा प्रदायक कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयलाई सम्पर्क गरेको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाले मन्त्री गुरुङका स्वकीय शालिग्राम पराजुलीलाई सिंगापुरस्थित कार्यालयबाट इमेल पठाएर नेपालमा दर्ता प्रक्रिया बारे जिज्ञासा राखेको हो।
“मेटाले सरकारी संयन्त्रलाई होइन, मन्त्रीको सचिवालयलाई सम्पर्क गरेको थियो। नेपालमा दर्ताका लागि आवश्यक कागजातबारे जानकारी मागेकाले हामीले इमेलमार्फत जवाफ दिएका छौं,” प्रवक्ता ठाकुरले सञ्चारकर्मीलाई बताए।
मेटाले सरकारी तहसँग प्रत्यक्ष संवाद नगरेको भए पनि नेपालमा कानुनी दर्ता प्रक्रियामा चासो देखाएको मन्त्रालयले जनाएको छ।
यसैबीच, हाम्रो पात्रोले पनि नेपालमा दर्ता प्रक्रियाको पहल थालेको छ। प्रवक्ता ठाकुरका अनुसार कम्पनीका प्रतिनिधि बिहीबार मन्त्रालयमै पुगेका थिए।
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले हालसम्म २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्ने तयारी गरेको छ। यस्तै परिस्थितिमा अन्तर्राष्ट्रिय कम्पनीहरूले दर्ता प्रक्रिया अघि बढाउन थालेपछि आगामी दिनमा सामाजिक सञ्जाल सञ्चालनको स्वरूपमा परिवर्तन हुने संकेत देखिएको छ।












Discussion about this post