सुनसरी — जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आगजनीबाट क्षतविक्षत बनेको सुनसरीका केही स्थानीय तहहरूले पुनः कार्यालय सञ्चालन सुरु गरेका छन्।
भोक्राहा नरसिंह गाउँपालिकाले बिहीबारदेखि सेवा प्रवाह सुरु गरेको छ। भवन पूर्णरूपमा क्षति भएपछि अस्थायी व्यवस्था स्वरूप कार्यालय परिसरको पार्किङ स्थलमा टेबल–कुर्सी राखेर काम थालिएको गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए। लामो समयदेखि रोकिएको प्रशासनिक सेवा नपाउँदा सेवाग्राही मर्कामा परेको र अब सम्पूर्ण काम सञ्चालनमा आएको उनको भनाइ छ।
यस्तै, गढी गाउँपालिकाले पनि सेवा प्रवाह सुरु गरेको अध्यक्ष आशनारायण चौधरीले जनाएका छन्। आन्दोलनका क्रममा गढीको भवन र अभिलेखमा ठूलो क्षति पुगे पनि अस्थायी व्यवस्थामार्फत जनताका काम कारबाही थालिएको उनले बताए।
यसैबीच, बढी क्षति पुगेको इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, कोशी गाउँपालिका र रामधुनी नगरपालिकामा भने सेवाप्रवाह सुरु हुन अझै केही दिन लाग्ने ती स्थानीय तहहरूले बताएका छन्।
जेन–जी आन्दोलनका क्रममा सुनसरीका अधिकांश स्थानीय तहका भवनमा आगजनी हुँदा प्रशासनिक कार्य अवरुद्ध भएका थिए। अहिले क्रमशः प्रभावित पालिकाहरूले वैकल्पिक व्यवस्था गर्दै सेवा पुनः सुचारु गर्न थालेका छन्।














Discussion about this post