इनरुवा । छठ पर्व नजिकिँदै जाँदा सुनसरी जिल्लामा केराको माग अत्यधिक बढेको छ। विशेषगरी घाट सजावट, अर्घ्यदान तथा प्रसादका रूपमा प्रयोग हुने केले बजारमा ठूलो मात्रामा खपत हुने भएकाले मूल्य पनि उच्च दरमा कारोबार भइरहेको व्यापारीहरूले बताएका छन्।
कृषक तथा थोक व्यापारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष उत्पादन कम भएको र बाढीका कारण धेरै बाली नष्ट भएकाले बजारमा केराको आपूर्ति घटेको छ। आपूर्ति घटेसँगै माग निरन्तर बढिरहेकाले खुद्रा बजारमा एक घारी केरा ५०० देखि १००० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
सुनसरीका इनरुवा, रामधुनी, गढी,दुहबी, इटहरी, भण्टाबारी, हरिनगर, भोकाहा नरसिंह लगायतका बजारमा केराको मूल्य दैनिक रूपमा वृद्धि भइरहेका छन्। छठ पर्वमा प्रसादमा प्रयोग हुने केलेको विशेष धार्मिक महत्व भएकाले मूल्य बढे पनि उपभोक्ता किनमेलमा सक्रिय देखिएका छन्।
स्थानीय व्यापारीहरू भन्छन्, “छठका बेला केरा अनिवार्य हुन्छ। माग धेरै र माल कम भएकाले मूल्य बढेको हो। तर, उपभोक्तालाई सकेसम्म उचित मूल्यमा उपलब्ध गराउने प्रयास भइरहेको छ।”
यसैबीच उपभोक्ताहरू भने मूल्य नियन्त्रणमा स्थानीय तह र बजार अनुगमन टोली सक्रिय हुनुपर्नेमा जोड दिएका छन्। “छठ जस्तो पवित्र पर्वमा आवश्यक सामग्री अत्यधिक महँगो हुनु सामान्य जनताका लागि चुनौती हो,” एक उपभोक्ताले भने।
कृषि विशेषज्ञका अनुसार समयमै प्रयाप्त भण्डारण तथा आपूर्ति व्यवस्थापन भए बजार समुचित रूपमा सन्तुलित गर्न सकिने हुँदा आगामी वर्षका लागि योजनाबद्ध ढंगले कृषि उत्पादन र बजार व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन्।










Discussion about this post