विराटनगर — प्रदेश राजधानी विराटनगरको तीनपैनीदेखि पुष्पलाल चौकसम्मको मुख्य व्यापारिक सडक अहिले खाल्डोले भरिँदा स्थानीयवासीदेखि सवारी चालकसम्म हैरान भएका छन्। दैनिक सयौं सवारीसाधन गुड्ने यो मार्ग जीर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम समेत बढेको छ।

सडकका विभिन्न स्थानमा गहिरा खाल्डा परेका कारण साना–ठूला गाडीहरू गुडाउन कठिनाइ भएको छ। स्थानीयवासी तोया ढकालका अनुसार खाल्डा र धुलोका कारण दैनिक जीवन असह्य बनेको छ। उनले भने, “सडकमा उड्ने धुलोले सास फेर्नसमेत गाह्रो हुन्छ, गाडी पनि पटक–पटक पल्टिन्छन्।”
सिटी सफारी चालक राजकुमारका अनुसार सडकको जीर्ण अवस्थाका कारण सवारी साधन बारम्बार बिग्रिने र दुर्घटनाको डर रहन्छ। “कयौं ठाउँमा सडक यति भत्किएको छ कि गाडी पल्टिने अवस्था आउँछ,” उनले बताए।
त्यस्तै विद्यार्थी सफल थापा र मनिष घतानेले विद्यालय आउजाउमा समस्या भएको भन्दै वडा नम्बर ३ कार्यालयमा निवेदनसमेत दिएका छन्। उनीहरूले खाल्डा छोप्ने र जेब्राक्रस पुनःनिर्माण गर्न आग्रह गरेका छन्।
शहरी विकास तथा पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार यो सडक एडीबी (एशियन डिभेलपमेन्ट बैंक) परियोजनाअन्तर्गत निर्माण भएको हो र यसको मर्मत जिम्मेवारी विराटनगर महानगरकै हो। “खाल्डो मर्मतका लागि टेन्डर भइसकेको छ, केही ठाउँमा काम सुरु भइसकेको छ र बाँकी दुई–तीन महिनाभित्र पूरा हुनेछ,” उनले जानकारी दिए।
तर स्थानीयवासीले तत्काल अस्थायी रुपमा भए पनि खाल्डा पुरी सडक सुचारु गर्न महानगरसँग माग गरेका छन्, किनभने दैनिक यात्रु, विद्यार्थी र व्यापारी सबैका लागि यो बाटो असह्य र जोखिमपूर्ण बनेको छ।










Discussion about this post