विराटनगर । ‘भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो,’ सुन्दरहरैंचाकी चन्द्रमा खनालको यो वाक्य अहिले मोरङका धेरै घरमा सुन्न सकिन्छ। स्पेन पठाउने नाममा कपिलवस्तुका सञ्जीव खरेलले दर्जनौँ परिवारको सपना र सम्पत्ति लुटेका छन्।
५७ वर्षीया निलादेवी खनालले छोरी–ज्वाइँलाई विदेश पठाउने चाहनामा १६ लाख बुझाइन्। दिल्ली र काठमाडौंमा १७ दिनसम्म ‘भिसा आउँदैछ’ भनेर राखेपछि खरेल बेपत्ता भए। बेलबारीका किसान ताराप्रसाद भट्टराईले गाई बेचेर ६ लाख बुझाए, तर न भिसा आयो, न पैसा फिर्ता। कतारमा काम गर्ने शशिता दनुवारले पनि सुन बेचेर ८ लाख बुझाइन्। उनले भनिन्, ‘भिसा आयो भनेपछि टिका पनि नलगाई काठमाडौं पुगेँ, तर न पासपोर्ट फिर्ता आयो, न भिसा।’
खरेलले डिजिटल माध्यममार्फत ठगी गर्थे—फोन, वाट्सएप, भाइबर, टेलिग्राम र फेसबुक प्रयोग गरेर। कहिले दिल्ली, कहिले कपिलवस्तु, कहिले काठमाडौंमा रहेको बताउँथे। पीडितहरूका अनुसार उनले फेक भिसा देखाउने, अन्तर्वार्ता लिने नाटक गर्ने र डेढ लाखका लुगा किन्न लगाउनेसम्मका अभिनय गरे।
हाल पीडितहरू सामूहिक रूपमा वैदेशिक रोजगार विभागमा उजुरी तयारीमा छन्। राजकुमार कार्की भन्छन्, ‘पैसा त गयो, अब अरू नफसुन् भन्ने चाहना छ।’
शशिता थप्छिन्, ‘हामी विदेशमा दुःख गरेर पठाएको पैसा ठगले लुटे, अब अरूले यस्तो धोका नपाउनस्।’











Discussion about this post