इनरुवा — भव्य तामझामका साथ उद्घाटन गरिएको भौतिक पूर्वाधार विकास कार्यालय सुनसरी अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासी र सरोकारवाला पक्षबाट आलोचना बढेको छ। कोशी प्रदेश सरकारले जिल्लास्तरीय पूर्वाधार योजना समन्वयका लागि स्थापना गरेको उक्त कार्यालय अहिले ‘नाम मात्रैको कार्यालय’ बनेको छ।
इनरुवा बसपार्क नजिक नव–निर्मित भवनमा करिब तीन महिनाअघि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले औपचारिक उद्घाटन गरेका थिए। सो अवसरमा प्रदेशका मन्त्री, जनप्रतिनिधि र प्राविधिक कर्मचारीको बाक्लो उपस्थिति थियो। उद्घाटनका क्रममा ‘विकासको गति बढाउने’ र ‘नागरिकको ढोका–ढोका सम्म सेवा पुर्याउने’ प्रतिबद्धता व्यक्त गरिएको थियो। तर, यथार्थ फरक देखिएको छ।
कागजमा मात्रै कर्मचारी, कुर्सी भने खाली
सञ्चारकर्मीको टोली कार्यालय पुगेको बेला १५ जना दरबन्दी रहेको कार्यालयमा कार्यालय सहयोगीसहित जम्मा ७ जना मात्र उपस्थित रहेका थिए। कार्यालय प्रमुख भने बाहिरी कार्यक्रममा व्यस्त रहेको भन्दै अनुपस्थित रहेको जनाइएको थियो। त्यसमध्ये एक जना कार्यालय सहयोगी र केही प्राविधिक मात्र उपस्थित रहेका थिए।कार्यालय प्रमुख भने “बाहिरी कार्य”मा गएको भन्दै अनुपस्थित रहेको कार्यालयले जनाएको छ।
कर्मचारीहरूको भनाइअनुसार, कार्यालयमा आवश्यक उपकरण, फर्निचर र काम गर्ने पूर्वाधार अझै अभावमा छन्।
एक कर्मचारीले भने,
“भवन तयार छ तर सामग्री र जनशक्ति अभावका कारण नियमित सेवा दिन सकिएको छैन।”
भवन तयार, नामपट्टिका टाँसिए पनि कार्यालयको नियमित कामकाज सुरु हुन सकेको छैन।
कार्यालय स्रोतका अनुसार आवश्यक उपकरण, फर्निचर, कम्प्युटर र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सञ्चालन रोकिएको हो।
स्रोतका अनुसार कर्मचारी पदस्थापनमा स्पष्टता नहुँदा र बजेट खर्च गर्ने अधिकार केन्द्र र प्रदेशबीच दोहोरो नियन्त्रणमा अड्किँदा कार्यालय सञ्चालनमा चुनौती बढेको हो।
विकास योजना प्रभावमा रोक
कार्यालय सञ्चालनमा नआएपछि जिल्लास्तरीय योजना तथा अनुगमनमा समस्या देखिएको छ।
स्थानीय तहले प्रदेश सरकारसँग प्रत्यक्ष सम्पर्क गरेर योजना स्वीकृत गराउनुपर्ने बाध्यता अझै यथावत छ।
सुनसरीमा वार्षिक पूर्वाधार योजना, सडक, पुल, खानेपानी र भवन निर्माणका कामहरू यस कार्यालयमार्फत समन्वय हुने भनिए पनि अहिलेसम्म कुनै कार्यान्वयन सुरु भएको छैन।
स्थानीय जनप्रतिनिधिको निराशा
इनरुवाका वडाध्यक्षले भने,
“भव्य उद्घाटन भयो, फोटो खिचियो, केक काटियो — तर कार्यालयका ढोका अझै बन्द छन्। यस्तो ‘उद्घाटन संस्कृति’ले विकासमा विश्वास घटाइरहेको छ।”
त्यस्तै, एक इन्जिनियरिङ्ग सर्भेयरले नाम नखुलाउने सर्तमा भने,
“हामीले स्थल निरीक्षण गरेका थियौं, तर न उपकरण छ, न जनशक्ति। यहाँ फाइल र कुर्सी मात्रै छन्।”
प्रदेश सरकार र स्थानीयको अपेक्षा
प्रदेश सरकारले हरेक जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरेर सडक, पुल, भवन र सिँचाइ योजना कार्यान्वयनलाई तीव्रता दिने योजना लिएको थियो।
तर सुनसरीमा सो कार्यालय सञ्चालन नहुँदा अन्य जिल्लाका योजना पनि सुस्त गतिमा अघि बढिरहेका छन्।
विशेषज्ञहरूका अनुसार,
“कार्यालय सञ्चालनमा ढिलाइ हुँदा बजेटको प्रभावकारी उपयोग नहुने, असारे खर्च पुनः बढ्ने, र विकास अनुगमन कमजोर हुने जोखिम छ।”











Discussion about this post