जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक जनक मन्दिरबाट शुक्रबार अयोध्याका लागि १०१ भारसहितको तिलक चढाउने टोली विधिवत् रूपमा बिदा गरिएको छ।
जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहको नेतृत्व तथा विश्व हिन्दू परिषद् नेपालको अगुवाइमा प्रस्थान गरेको टोलीले शनिबार कारसेवकपुरममा विशेष तिलकोत्सव आयोजना गर्नेछ।
समारोहका क्रममा जनक मन्दिरका उत्तराधिकारी महन्तले मेयर साहलाई अंगवस्त्र र निमन्त्रणा पत्र प्रदान गर्दै परम्परागत विधिअनुसार बिदा गरे। मिथिला संस्कृतिअनुसार त्रेतायुगमा प्रभु रामले पिनाक धनुष भाँचेर सीता स्वयंवर जितेपछि वरपक्षतर्फबाट तिलक पठाउने प्रचलन सुरु भएको मानिन्छ।
यही परम्परालाई जीवित राख्न गत वर्ष विश्व हिन्दू परिषद्का महामन्त्री राजेन्द्रसिंह पंकजको पहलमा तिलक–रसम पुनः थालनी भएको थियो। यस वर्ष पनि सोही परम्पराको निरन्तरता दिँदै टोली अयोध्या पठाइएको हो।
१५ सदस्यीय टोलीमा मेयर साहसँगै परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष रघुनाथ साह, केन्द्रीय सदस्य मनोहर साह, सम्भाग प्रमुख अरविन्दकुमार, वीरेन्द्रकुमार साह, कार्यवाह विमलकुमार साह, महोत्तरी कार्यवाह चन्दन दूवे, सम्भाग प्रचारक लक्ष्मण यादव, मेयरकी धर्मपत्नी मुन्नी कुमारी लगायतका प्रतिनिधिहरू सहभागी छन्।
तिलक परम्पराले मिथिला–अयोध्या सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाउने अपेक्षा गरिएको छ।














Discussion about this post