काठमाडौं । अन्तरिम सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रियालाई तीव्र रूपमा अघि बढाइरहेको ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बताएका छन्। एनआरएनएको नागरिकता तथा भोटिङ राइट्स समितिले आइतबार आयोजना गरेको वेबिनारमा बोल्दै उनले आवश्यक कानूनी र प्राविधिक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
मन्त्री घिसिङका अनुसार एनआरएन नागरिकता र विदेशबाट मतदान सम्बन्धी गृहकार्य गृह मन्त्रालयमै सक्रिय रूपमा चलिरहेको छ। ‘विदेशमा रहेका नेपालीले अब भोट गर्नै पर्छ,’ उनले भने, ‘समयाभावका समस्या रहे पनि सरकार अध्यादेशमार्फत पहल गरिरहेको छ।’ खाडी मुलुकमा मतदान गर्न सुरक्षाका चुनौती र सम्बन्धित देशहरूसँग सहकार्य आवश्यक पर्ने उनले उल्लेख गरे।
ब्रिटिस गोर्खाका सन्तानलाई वंशज नागरिकता निरन्तरता दिनुपर्ने मागमा पनि आफू स्पष्ट रूपमा सकारात्मक रहेको उनले दोहोर्याए— ‘यसले देशलाई फाइदा गर्छ, लगानी बढ्छ।
’ छलफलमा एनआरएनए आइसिसी अध्यक्ष महेश कुमार श्रेष्ठले पनि विदेशमा रहेका नेपालीका लागि भोटाधिकार अब ढिलो गर्नु नहुने भन्दै पाइलट प्रोजेक्टबाटै सुरु गर्नुपर्ने सुझाव दिए। उनले सम्बन्धित नियमावली तथा कानुन सुधार आवश्यक रहने बताए। संक्षेपमा, विदेशमा रहेका नेपालीलाई भोट दिने व्यवस्था अब सरकारका प्रमुख प्राथमिकतामा परेको छ।










Discussion about this post