इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका–४ स्थित जामिया इस्लामीयामा आधुनिक सुविधायुक्त ३ तल्ले शैक्षिक भवन निर्माण कार्यको सोमबार शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले एक विशेष समारोहका बीच भवन निर्माणको कार्य शुभारम्भ गरेका हुन्।
समारोहमा वडा नं. ४ का वडाध्यक्ष हारूण अंसारी, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख हिरालाल शाह, शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिना, प्राविधिक सुनिल बिक्रम सिंह, रितिक घिमिरे, स्थानीय बुद्धिजीवी हरिगाेविन्द यादव,नेपाली कांग्रेस युवराज दाहाल, सुनिल यादव, शिक्षक मनाेज पाेखरेल, नीरबहादुर कटुवाल, अभिभावक तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता थियो।
यता भवन निर्माण लागत मूल्य ३ करोड ७२ लाख २२ हजार ५ सय ५५ रूपैयाँ ४३ पैसा रहेकोमा बाेलपत्र मार्फत समीक्षा निर्माण सेवा इनरुवा सुनसरीले ३ करोड ३३ लाख ५२ हजार ३ सय ७३ रूपैयाँ ७८ पैसामा निर्माण गर्न छनाैट भएको छ ।
गाउँपालिका प्राविधिक शाखा प्रमुख राजेश गिरीका अनुसार भवनमा १८ कक्षा कोठा, कम्प्युटर ल्याब, फिजिक्स ल्याब,सभाहल, पहुँचमार्ग, आधुनिक शैक्षिक पूर्वाधार निर्माण हुने जानकारी दिए ।
उनका अनुसार, “नयाँ भवनले धार्मिक शिक्षासँगै विज्ञान र प्रविधि–आधारित सिकाइ प्रणालीलाई मजबुत बनाउनेछ।”
शिलान्यास समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले धार्मिक शिक्षालयहरूलाई प्रविधिमैत्री र आधुनिक बनाउने लक्ष्यलाई पालिकाले शीर्ष प्राथमिकतामा राखेको स्पष्ट पारेका हुन् ।
अध्यक्ष आजादले भने “जामिया इस्लामीया केवल धार्मिक शिक्षाको केन्द्र मात्र होइन, भाेक्राहा नरसिंह गाउँवासीकाे पहिचान र भविष्य निर्माण गर्ने महत्त्वपूर्ण संस्था हो। यसलाई गुणस्तरीय, आधुनिक र समावेशी शैक्षिक केन्द्रका रूपमा विकसित गर्नु हाम्रो लक्ष्य हो।”
उनले ठेकेदार संस्थालाई गुणस्तरीय काम समयमै सम्पन्न गर्न निर्देशन दिँदै थपे “धार्मिक संस्थाहरूलाई सरकारी स्रोत–साधन निष्पक्ष रूपमा वितरण हुनेछ। कामको गुणस्तर र पारदर्शितामा कुनै सम्झौता हुन दिइने छैन।”
शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले भाेक्राहा नरसिंह गाउँपालिकाले शिक्षा क्षेत्रमा ‘संरचनात्मक विस्तार र गुणस्तरीय सेवा’ मुख्य लक्ष्यका रूपमा अघि बढेको बताए।
अधिकारीले भने “धार्मिक तथा सामुदायिक विद्यालयहरूको भौतिक संरचना सुदृढ बनाएर आधुनिक शिक्षासँग जोड्नु पालिकाको रणनीतिक लक्ष्य हो। जामिया इस्लामीयामा बन्न लागेको यो भवन धार्मिक र आधुनिक शिक्षाबीच सन्तुलन कायम गर्ने नमुना परियोजना हुनेछ।”
उनले पालिकाबाट शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार क्षेत्रमा हरेक वर्ष लगानी विस्तार भइरहेको उल्लेख गर्दै स्थानीयको विश्वासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
स्थानीय शिक्षक, अभिभावक तथा समुदायका प्रतिनिधिहरूले नयाँ भवनले दीर्घकालीन शैक्षिक सुधार ल्याउने विश्वास व्यक्त गरे। तरुण दल भाेक्राहा नरसिंह गाउँ कमिटीका सभापति आरिफ हुसेन, नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन लगायतका नेताहरूले धार्मिक शिक्षासँगै विज्ञान, प्रविधि र व्यावहारिक विषयमा पनि विद्यार्थीको पहुँच विस्तार हुने बताए।
अभिभावक असफाक अंसारीले भने “पहिले कोठा अभावका कारण कक्षा सञ्चालनमा समस्या थियो। अब नयाँ भवन आएपछि सिकाइ वातावरण अझै व्यवस्थित र प्रभावकारी हुनेछ।”
भवन पुरा भएपछि विद्यालयमा कक्षा व्यवस्थापन सहज हुनेछ, प्रयोगशाला शिक्षण बलियो हुनेछ, र धार्मिक तथा आधुनिक शैक्षिक प्रणालीबीचको सन्तुलन कायम रहने जनाइएको छ।
स्थानिय अगुवा असजद अंसारीका अनुसार “धार्मिक शिक्षा र आधुनिक सीपबीच सन्तुलन कायम गर्ने आधारको रूपमा नयाँ संरचना निकै महत्वपूर्ण हुनेछ।”
सरोकारवालाहरूको भनाइमा, समयमै र गुणस्तरीय रूपमा काम सम्पन्न भए जामिया इस्लामीयालाई प्रदेशकै नमुना धार्मिक–आधुनिक शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना अत्यधिक छ।












Discussion about this post