सुनसरी । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भाेक्राहा नरसिंह गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ । बुधबार गाउँपालिका कार्यालयमा सम्पन्न कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरू, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयहरू सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, हक–अधिकार र सहज पहुँच सुनिश्चित गर्न पालिका प्रतिबद्ध रहेको बताए। उनले भने,
“फरक क्षमता भएका व्यक्तिहरूलाई एम्बुलेन्स सेवामा अब ७० प्रतिशतसम्म छुट दिइनेछ। स्वास्थ्य सेवा कसैका लागि बाधक नबनोस् भन्ने हाम्रो उद्देश्य हो।”
अध्यक्ष आजादले यसअघि सर्वसाधारणका लागि पनि पालिकाले निरन्तर ५० प्रतिशत छुट उपलब्ध गराउँदै आएको स्मरण गराउँदै अझ प्रभावकारी सेवाका लागि थप सुधारका कार्यक्रम ल्याइने बताए।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हिरालाल शाहले अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य पहुँच सहज गर्न पालिकाले विभिन्न सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।
उनका अनुसार, “एम्बुलेन्समा छुटका साथै स्वास्थ्य परीक्षण, परामर्श, सामाजिक सुरक्षा भत्ता तथा आवश्यक सेवामा प्राथमिकता दिनेतर्फ पालिका निरन्तर सक्रिय छ।”
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको यस वर्षको नाराले सबैमा सामाजिक समावेशीकरण, समान अवसर र सम्मानजनक जीवनका लागि प्रेरणा जगाएको आयोजकले बताए।
कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीय समूह र अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले समावेशी समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका थिए।










Discussion about this post