सुनसरी । विराटनगर बिहीबार बिहान शोकमा डुबेको छ। शहरको भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनाले नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी मिनेश थापाको ज्यान लिएको छ। विराटनगर महानगरपालिका–५ निवासी थापा बिहीबार राति करिब पौने १ बजे दुर्घटनामा परेका थिए।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
कोशी प्रदेशको प्रतिनिधित्व गर्दै करिब नौ वर्षभन्दा बढी समयदेखि क्रिकेट खेल्दै आएका थापा एक आशालाग्दा ब्याट्सम्यानका रूपमा चिनिन्थे। उनले केही फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाइसकेको परिवारले जनाएको छ। राष्ट्रिय स्तरका खेलाडीको असामयिक निधनले परिवार मात्र होइन, समग्र क्रिकेट समुदायलाई नै स्तब्ध बनाएको छ।
पारिवारिक पृष्ठभूमि पनि पीडादायी छ। थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता रहेका छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै विराटनगरमा बस्दै आएका थिए।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।
उदीयमान क्रिकेट करिअरको बीचमै भएको यो दुःखद अन्त्यले नेपाली क्रिकेटले एक प्रतिभाशाली खेलाडी गुमाएको छ।










Discussion about this post