इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा भएको गोलीकाण्डले एक जनाको ज्यान गएको छ। कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साह नेपाल–भारत सीमा नजिकै गोली लागेर मृत भेटिएका हुन्। घटना सशस्त्र प्रहरीको बेस क्याम्प बीओपी लौकही नजिक पर्ने पुरी टोलमा भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार सिटी सफारीमार्फत सामान ल्याइँदै गर्दा चालकलाई लक्षित गरी गोली प्रहार गरिएको प्रारम्भिक अनुमान छ। घटनास्थलबाट गोलीको खोका समेत फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयबासी र मृतकका आफन्तले प्रदर्शन थालेका छन्। प्रारम्भिक विवरणमा गोली सशस्त्र प्रहरीतर्फबाट चलेको हुनसक्ने आशंका गरिएको छ, यद्यपि यस विषयमा औपचारिक पुष्टि भइनसकेको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिँदै सबै कोणबाट अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।










Discussion about this post