इनरुवा । सुख्खा याममा विद्युत समस्या झेल्दै आएका विराटनगरका उद्योगीहरू अब सौर्य उर्जातिर झुकेका छन्। सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका धेरै उद्योगले आफ्ना छानामा सौर्य प्यानल जडान गर्दै आएका छन्।
एशियन थाई फुड्सका सञ्चालक महेश जाजुका अनुसार आफ्नो उद्योगमा दुई मेगावाट क्षमताको सौर्य प्लान्ट छिट्टै स्थापना हुनेछ। उनले बताए अनुसार अब उद्योग दिनभरको विद्युत खपत आफैं पूरा गर्न सक्षम हुनेछ। जाजुका अनुसार सुख्खा याममा घटबढ हुने विद्युत र औद्योगिक फिडरको समस्या टार्न सौर्य उर्जा विकल्पका रूपमा उपयोगी साबित भएको छ।
प्राइम रिन्यूवल कम्पनीका बजार प्रवद्र्धक अमित कुमार दाहालका अनुसार सुनसरी–मोरङ करिडोरका चार उद्योगमा अहिले सौर्य उर्जा जडान भइरहेको छ। एशियन थाई फुड्समा १५ दिनभित्र प्लान्ट स्थापना हुने छ भने बाँकी उद्योगमा ढेड महिनाभित्र काम पूरा हुने छ।
यसपछि स्वस्तिक रोलिङ, स्वस्तिक पोलिमर, लेमिनार इण्डष्ट्रिज र पशुपति आइरन एण्ड स्टिलजस्ता उद्योगमा पनि सौर्य उर्जा जडान सुरु हुनेछ। औद्योगिक प्लान्टमा एक मेगावाट सौर्य उर्जा जडान गर्दा कर बाहेक ३.८–४ करोड रूपैयाँ लागत लाग्ने बताइएको छ।
उद्योग व्यापार संघका सचिव अमित शारडाका अनुसार हाल विराट ट्रेड एक्स्पोमा सौर्य उर्जा नै आकर्षणको केन्द्र बनेको छ। उद्योगीहरूले अहिलेसम्म ६ मेगावाट क्षमताको सौर्य प्लान्ट स्थापना गर्ने योजना बनाएका छन्।
विराटनगरका चार वर्षदेखि सौर्य उर्जा प्रयोग गर्दै आएका एमएम प्लाष्टिकका सञ्चालक सुयश प्याकुरेलका अनुसार प्लान्ट स्थापना पछि विद्युत खपत आफैं पूरा भएपछि उत्पादन लागत घटेको छ। नेपाल विद्युत प्राधिकरणले औद्योगिक रुफ–टप परियोजनामा नेट–मिटरिङ सुविधा उपलब्ध गराउँदा, उद्योगले अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडमा बेच्न सक्ने व्यवस्था भएको छ।
उद्योग संगठन मोरङका महाप्रवन्धक चुडामणी भट्टराईका अनुसार अहिले धेरै उद्योगी ग्रीड कनेक्टेड प्रणाली अपनाउन इच्छुक छन्। यसले न केवल आफ्नै खपत पुरा गर्छ, अतिरिक्त उर्जा बिक्रीमार्फत लाभ पनि दिलाउँछ। सौर्यबाट उत्पादित उर्जामा प्राधिकरणसँगको दर प्रतियूनिट ५.९४ रूपैयाँ रहेको छ। यदि अनुदानका अवसरहरू उपयोग भए, उद्योगीलाई प्रतियूनिट ७–८ रूपैयाँ फाइदा हुने सम्भावना पनि छ।










Discussion about this post