इनरुवा । विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदान शनिबार उत्सवमय बन्यो । घरेलु क्रिकेटमा नयाँ इतिहास रच्दै मोरङले प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ । फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले च्याम्पियनको ताज पहिरिएको हो ।
कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको मोरङ ४३ ओभरको खेलमा ४२.४ ओभरमै अलआउट हुँदै १ सय ७४ रनमा सीमित भयो । टोलीका लागि कृतिक कामतले सर्वाधिक ३४ रनको योगदान दिए भने प्रतिक पोखरेल (२६), शाकिव हक (२४) र कप्तान दिपेश कँडेल (१९) ले उपयोगी रन जोडे । अन्त्यतिर प्रेम कामतले अविजित १३ रन बनाए । झापाका आयुस न्योपानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने कप्तान सुजन थपलिया, सौजनप्रसाद घिमिरे र विपिन महतोले २–२ विकेट झारे ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको झापाले निर्धारित ओभर पूरा खेले पनि ९ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो । आसिक राना मगरले ४३ रनको संघर्षपूर्ण इनिङ खेले भने फैजल रहमानले २२ रन जोडे । मोरङका फिर्दोस अन्सरीले ३ विकेट लिएर जितमा निर्णायक भूमिका खेले । कप्तान दिपेश कँडेल र प्रेम कामतले समान २–२ विकेट हात पारे ।
व्यक्तिगत पुरस्कारतर्फ फाइनल खेलको ‘प्लेयर अफ द फाइनल’ मोरङका कप्तान दिपेश कँडेल घोषित भए । प्रतियोगिताको उत्कृष्ट ब्याटर कृतिक कामत बने भने उत्कृष्ट बलरको उपाधि प्रेम कामतले जिते । समग्र प्रदर्शनका आधारमा ‘प्लेयर अफ द सिरिज’ पनि कप्तान दिपेश कँडेल नै बने ।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे तथा मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले ट्रफी, पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।










Discussion about this post