सुनसरी । कोशी प्रदेशसभाको नियमित बैठक अब विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन हुने भएको छ। यसका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच औपचारिक करार सम्झौता भएको छ।
आइतबार महानगरपालिकामा आयोजित विशेष समारोहमा दुवै पक्षका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे। महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिव सुदर्शन खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताका साक्षीका रूपमा महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिरे रहेका थिए।
सम्झौताअनुसार आगामी माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्मका लागि, प्रारम्भिक छ महिनाको अवधिमा वीरेन्द्र सभागृह कोशी प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ। यस अवधिमा प्रदेशसभा सचिवालयले मासिक ८ लाख रुपैयाँ भाडा महानगरपालिकालाई तिर्नुपर्नेछ। भाडा प्रत्येक महिना सकिएको सात दिनभित्र भुक्तानी गर्नुपर्ने र कानुनअनुसार लाग्ने सम्पूर्ण कर प्रदेशसभा सचिवालयले नै व्यहोर्ने व्यवस्था गरिएको छ।
सम्झौताको म्याद सकिनु एक महिना अगावै आपसी सहमतिमा अवधि थप गर्न सकिने प्रावधान पनि समावेश गरिएको छ। प्रदेशसभा सचिवालयले समयअगावै करार अन्त्य गर्न चाहेमा एक महिना अगाडि सूचना दिनुपर्नेछ भने महानगरपालिकाले सम्झौता रद्द गर्नुपर्ने भए दुई महिना अगावै जानकारी गराउनुपर्नेछ।
प्रदेशसभा सचिव सुदर्शन खड्काले प्रदेशसभा सञ्चालनका लागि वीरेन्द्र सभागृह उपलब्ध गराएकोमा विराटनगर महानगरपालिकाप्रति आभार व्यक्त गरे। गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा प्रदेशसभा भवनमा भएको आगजनीले भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रदेशसभा सञ्चालन प्रभावित बनेको थियो। त्यसपछि वैकल्पिक स्थानको खोजी भइरहेका बेला मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवन प्रयोग गर्ने तयारी भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावले त्यो योजना सफल हुन सकेन।
नयाँ सम्झौतासँगै प्रदेशसभा सञ्चालनमा देखिएको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।










Discussion about this post