गोरखा : पिरो चाउचाउ भनेर नाम कमाएको करेन्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन्। गोरखा नगरपालिका-७ डण्डीडाँडामा उपभोक्ताहरूले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका हुन्।
‘हामी तीन जनाले आज पिरो करेन्ट चाउचाउ खाऔँ भनेर दुईवटा चाउचाउलाई तातोपानीमा उमाल्यौँ। उमालेको मैले नै हो’, स्थानीय कल्पना श्रेष्ठले भनिन्, ‘ढकनी झिकेर हेर्दा त किरैकिरा तैरिरहेको रहेछ। त्यसपछि हामीले वरिपरिका अरू मान्छेहरूलाई पनि देखायौँ। सबैले छिःछिः थुः थुः गर्न थाले।’
यसअघि पनि करेन्ट चाउचाउ खाने गरेको तर अबदेखि यो चाउचाउ नखाने उनले बताइन्। दुई जना साथीहरू चाउचाउ बनाउँदै गरेका बेला आफू बाहिरबाट आइपुगेको अर्की दुर्गा थापाले बताइन्। ‘उहाँहरूले चाउचाउ बनाउँदै हुनुहुन्थ्यो। म भर्खर बाहिरबाट आइपुगेको थिएँ’, उनले भनिन्, ‘उहाँहरूले कीरा फेला पार्नुभयो। उहाँहरूले हेर्न बोलाएपछि मैले पनि हेरेँ।’
चाउचाउमा त्यस्तरी किरा परेको आफूले पहिलो पटक देखेको उनले बताइन्। अनि हामीले नखाइकन फाल्यौँ।’ चाउचाउ म्याद गुज्रेको उनले बताइन्। ‘२०२१ मे मा बनेको लेखेको थियो’, उनले भनिन्, ‘डेट कहिले सकिने भनेरचाहिँ लेखेको देखिएन।’
एशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउ गोरखा लगायतका क्षेत्रहरूमा लोकप्रिय छ। कम्पनीबाट हिफाजतसाथ पठाएको चाउचाउ म्याद गुज्रिएर वा खोल च्यातिएर बिग्रिएको हुनसक्ने गण्डकी प्रदेशका सेल्स मेनेजर सूर्यराज बरालको भनाइ छ।
‘उद्योगबाट १२० डिग्री सेण्टिग्रेडमा उमालेको हुन्छ। मेटालिक र्यापरमा प्याक गरेर बजारमा पठाएको हुन्छ’, बरालले भने, ‘डेटअफ हुँदैमा किरा त पर्दैन, प्याकेट फुटेको हुनसक्छ। उपभोक्ता पनि सजग हुनुपर्छ।’ स्रोत:अन्नपूर्ण
Discussion about this post