इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको चिरौलीस्थित गाउँ कार्यपालिका कार्यालयमा सोमबार दिउँसो करिब १२:३० बजे एक अराजक समूहले कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको घटना बाहिर आएको छ। उक्त समूहले कार्यालयमा कार्यरत केही कर्मचारीलाई शारीरिक र मानसिक यातना दिँदै उनीहरूको मोबाइल फोन फुटाउने जस्ता गैरकानूनी क्रियाकलाप गरेको बताइएको छ।
घटनापछि गाउँपालिकाले आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अमानवीय गतिविधिको घोर निन्दा गरेको छ। विज्ञप्तिमा दोषीहरूमाथि कडा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ भने, छानबिन समिति गठन गरी घटनाको वास्तविकता पत्ता लगाउने काम सुरु गरिएको जनाइएको छ।
यता गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले यस अराजक घटनाले गाउँपालिकाको शान्ति, सुव्यवस्था र कर्मचारीहरूको सुरक्षामा गम्भीर चुनौती खडा गरेको बताउँदै, “दोषीलाई कानूनी कठघरामा उभ्याउन कुनै कसर बाँकी नराखिनेछ,” भनेर कडा कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गतिविधिहरू कुनै पनि रूपमा स्वीकार्य नहुने बताएका छन्। उहाँले छानबिनमा पूर्ण पारदर्शिता अपनाई दोषीमाथि कानूनी प्रक्रिया अनुसार तत्काल कारबाही अघि बढाइने बताउनुभएको छ।
उता गाउँपालिकाले सम्पूर्ण नागरिकहरूलाई संयमित, सतर्क र सचेत रहन अपील गरेको छ। अफवाह वा भ्रामक सूचनाहरूमा ध्यान नदिन र शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न गाउँपालिकालाई सहयोग गर्न आग्रह गरिएको छ।
गाउँपालिकाले छानबिन प्रक्रिया अघि बढाइसकेको र यस्ता अराजक घटनाहरू दोहोरिन नदिन सुरक्षा व्यवस्था थप मजबुत बनाइने जानकारी दिएको छ।
Discussion about this post