इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीले आसन्न दशैँ, तिहार जस्ता प्रमुख चाडपर्वलाई मध्यनजर गर्दै बजारमा हुन सक्ने कालोबजारी र उपभोक्ता ठगी रोक्न विशेष अप्रेसन चलाउने भएको छ। प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न एक बैठकले चाडपर्वका समयमा बजारमा हुने सम्भावित अनियमितता र उपभोक्ताको हित संरक्षणका लागि विभिन्न निर्देशन जारी गरेको हो।
प्रजिअ तिवारीले चाडबाडको समयमा उपभोक्ता ठगिन सक्ने र कालोबजारी मौलाउने सम्भावना हुने भएकाले बजार अनुगमनलाई कडा बनाउनु पर्ने बताएका छन्। बैठकमा उनले मातहतका सबै कार्यालय प्रमुखहरुलाई उपभोक्ताको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए।
बैठकमा उपभोक्ता ठगी, कालोबजारी नियन्त्रण, शान्ति सुरक्षा, राजमार्ग सुरक्षा, खाद्य गुणस्तरको निगरानी, र दैनिक उपभोग्य वस्तुहरुको खरीद-बिक्री सम्बन्धी विषयमा छलफल भएको थियो। प्रजिअ तिवारीले भने, “दशैँ तिहारलाई सभ्य र मर्यादित तवरले मनाउन सबै पक्षको साथ अपरिहार्य छ।”
बैठकले बजार अनुगमन प्रभावकारी बनाउन जनशक्ति परिचालन गर्ने र अनियमिततामा संलग्नलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ। यसका साथै, बैंक तथा वित्तीय संस्थाहरुमा निगरानी बढाउने, ट्राफिक व्यवस्थापन चुस्त बनाउने, र चेकिङ प्रणालीलाई कडा पार्ने निर्णय गरिएको छ।
बैठकले विशेष गरी कालोबजारी नियन्त्रणका लागि विशेष अप्रेसन सञ्चालन गर्ने निर्णय गरेको छ। प्रशासनले जनाए अनुसार, बजारमा मूल्य सूची अनिवार्य गर्ने, म्याद नाघेका वस्तुहरुको बिक्रीमा रोक लगाउने, बढी मूल्य असुल्नेलाई कारवाही गर्ने, तौल र परिमाणमा ठगी रोक्ने, र खाद्य स्वच्छता सुनिश्चित गर्ने गरी टोली परिचालन गरिनेछ।
सुनसरी प्रशासनले विगतमा कानुनी कारवाही नगर्दा गलत कार्यमा संलग्नहरुको मनोबल बढेको भन्दै यसपटक कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, प्रशासनले स्थानीय तहलाई सुरक्षा निकायसँग समन्वय गरी बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाउन अनुरोध गरेको छ।
यता प्रशासनले जारी गरेको निर्देशनअनुसार कालोबजारी, उपभोक्ता ठगी, र म्याद नाघेका तथा गुणस्तरहीन वस्तुहरुको बिक्री प्रचलित कानुन विपरीत हुने भएकाले यस्ता गतिविधिमा संलग्नहरुलाई कडा कारवाहीको दायरामा ल्याइनेछ।
Discussion about this post