काठमाडौँ – नेपालमा सुरक्षित गर्भपतनको संख्या दिन प्रतिदिन बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ५ हजार ९८ जनाले गर्भपतन गराएका छन्। यस तथ्यांकले देशमा सुरक्षित गर्भपतनप्रति जनचेतना वृद्धि भएको देखाएको छ।
गर्भपतन गराउनेहरूमध्ये ७५ हजार ९७८ जनाले औषधिको माध्यमबाट गर्भपतन गरेका छन्, जसले औषधिमार्फत गर्भपतनको लोकप्रियता र सजिलोपनको संकेत गर्दछ। यो प्रविधि मुख्यत: २० वर्ष मुनिका ४ हजार ६२८ जनामा देखिएको छ भने २० वर्ष माथिका ७१ हजार ३५० जनाले यो विधि अपनाएका छन्।
औजार प्रयोग गरेर सुरक्षित गर्भपतन सेवा लिनेको संख्या भने २९ हजार १२० रहेको छ। २० वर्ष मुनिका २ हजार २७३ जनाले यो सेवा लिएका छन् भने २० वर्ष माथिका २६ हजार ८४७ जनाले सुरक्षित गर्भपतनको यो माध्यम प्रयोग गरेका छन्।
नेपालमा सुरक्षित गर्भपतनको सेवा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूबाट उपलब्ध छ। जनचेतनाको कमीका कारण धेरै महिलाहरू असुरक्षित तरिकाबाट गर्भपतन गराउन बाध्य थिए। तर, सरकारले सुरक्षित गर्भपतन सेवा बारे व्यापक जनचेतना अभियान सञ्चालन गर्दै आएपछि महिलाहरू सुरक्षित तरिकाबाट सेवा लिन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित गर्भपतन सेवा सबैका लागि सहज, सुरक्षित र निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ। सुरक्षित गर्भपतन सेवामा पहुँच वृद्धि र जनचेतनामा भएको वृद्धि संगै, महिलाहरू आफ्नो स्वास्थ्य र भविष्यप्रति सचेत देखिएका छन्।
Discussion about this post