इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ को कार्यालय झन्डै ७ वर्षपछि भाडाको भवनबाट नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण भएको छ। यस ऐतिहासिक स्थानान्तरणसँगै आजदेखि नवनिर्मित भवनबाट नियमित सेवा प्रवाह सुरु भएको छ।
कार्यालयको नयाँ भवनबाट सेवा सुरु गर्न विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा हवन कार्य सम्पन्न गरी प्रसाद वितरण गरिएको थियो। यस अवसरमा सेवाग्राहीहरूले खुशीका साथ नयाँ भवनबाट सेवा लिन थालेका छन्। समारोहमा वडा अध्यक्ष सेराजुदिन अंसारी र वडा सचिव रामचन्द्र यादवले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
वडा अध्यक्ष सेराजुदिन अंसारीले आफ्नै भवनमा कार्यालय स्थानान्तरण हुनु वडा नम्बर ६ का बासिन्दाहरूका लागि ठूलो उपलब्धि भएको बताए। उनले भने, “आफ्नो भवनबाट सेवा सुरु गर्नु विकासको अर्को अध्याय हो। यसले स्थानीय बासिन्दालाई सहज र प्रभावकारी सेवा प्राप्त गर्न थप मद्दत गर्नेछ।” अंसारीले सेवाको गुणस्तर सुधार्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
त्यस्तै वडा सचिव रामचन्द्र यादवले भवन निर्माणको क्रममा आएका चुनौतीहरूको चर्चा गर्दै भने, “भाडाको भवनमा सेवा दिन कठिन थियो, तर अब आफ्नै भवनमा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीहरूलाई समयमै सेवा उपलब्ध गराउन सजिलो हुनेछ।” उनले भवन निर्माणको लागि योगदान दिने सबैलाई धन्यवाद व्यक्त गर्दै सेवाको सुलभता र सरलतामा जोड दिने बताए।
यस नवनिर्मित भवनले सेवाग्राहीहरूलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्दै वडा नम्बर ६ को विकास र समृद्धिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
Discussion about this post