काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीलाई हैरानी दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडिओ कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने धम्की दिएर मानसिक यातना दिएको आरोपमा रौतहट दुर्गा भवानीपुर गाउँपालिकाका कृष्ण कुमार यादवलाई पक्राउ गरिएको हो ।
बुधबार पक्राउ परेका २७ वर्षीय यादव प्रहरी चौकी कोटेश्वर धनुषामा दरबन्दी भएका प्रहरी जवान हुन् । उनलाई जिल्ला अदालत काठमाडौंबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
उनले युवतीका नग्न तस्वीर ह्वाट्सएप, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्ने धाक धम्की दिई पीडितलाई मानसिक तनाव, दुःख हैरानी, समाजमा बदनाम र बेइज्जती गराई चरित्र हत्या समेत हुने कार्य गरेको आरोप यादवमाथि लगाइएको छ । त्यसैगरी सामाजिक सञ्जालमा फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरङ्ग तस्वीरहरू आफन्त र साथीभाइलाई पठाई चरित्र हत्या गर्ने कार्य गरेको भन्दै ब्यूरोले अर्का एक युवालाई समेत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १७ घर भई सुनसरीको धरान वडा नम्बर ३ मा अस्थायी रूपमा बसोबास गर्ने ३१ वर्षीय मोहम्मद सद्दाम भनिने मोहम्मद कासिम रहेका छन् । उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेको आरोप लगाइएको छ ।
प्रहरी कार्यालय धरानको सहयोगमा पक्राउ परेका उनीमाथि समेत बिहीबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
Discussion about this post