सन्तोष मेहता / विराटनगर ।
(कांग्रेस विआरटी )
नेपाली कांग्रेसका नेताहरूले गठबन्धन चुनावसम्मका लागि मात्रै भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिले आज विराटनगरमा आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष्ठिमा बोल्ने नेताहरूले गठबन्धन चुनावसम्मका लागि मात्रै भएको स्पष्ट पारेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका विषयमा बारम्बार प्रश्न उठ्ने गरेको भन्दै विशेष परिस्थितिमा बनेको गठबन्धन चुनावसम्मका लागि मात्रै भएको स्पष्ट पार्नुभयो । उहाँले एमसीसीका विषयमा नेपाली कांग्रेसले सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा दुवै परिस्थितिमा एमसीसी पास गर्नु पर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले पार्टीलाई एक ढिक्का बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र आफ्नो समान धारणा रहेकाले आफूहरूबीचका कुनै किसिमको तिक्तता नरहेको स्पष्ट पार्नुभयो । कांग्रेस उपसभापति धनराज गुरूङले कांग्रेस हात्ती भएकाले कुकुर भुक्दैमा हात्ती लम्कन नछाड्ने बताउनुभयो । उहाँले चुनावी मैदानमा पनि कांग्रेस एक्लै जाने स्पष्ट पार्नुभयो । उहाँले हात्तीको ठूलो कानमा टाँसिन चाहने चमेराहरूलाई ठाउँ नदिने स्पष्ट पार्नुभयो । उहाँले हात्ती रुपी कांग्रेस निर्वाचनमा एक्लै लड्ने दाबी गर्नुभयो । महामन्त्री गगन थापाले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभयो । उहाँले जेठ ३० गते तोकिएको स्थानिय तहको निर्वाचन तोकिएकै मितिमा हुने दाबी गर्नुभयो । संघिय निर्वाचन चाँडै गर्नुपर्ने अवस्थामा सृजना भए पनि स्थानिय तहको निर्वाचन तोकिएकै समयमा गर्न कांग्रेस जिम्मेवार भएर उभिने स्पष्ट पार्नुभयो । महामन्त्री थापाले नेपालमा माले, मसाले र मण्डले प्रबृत्ती घातक भएको बताउनुभयो । जनतालाई भ्रममा राखेर उत्तेजनाको दोकान चलाउन कम्युनिष्ट नेताहरू लागि परेको बताउँदै उहाँले उत्तेजनाको दोकान चलाएर संधै जनतालाई भ्रममा पार्न नेताहरूले नसक्ने स्पष्ट पार्नुभयो । नेता डा मिनेन्द्र रिजालले १४ औं महाअधिवेशनपछि नेपाली कांग्रेस युवाको पार्टी बनेको दाबी गर्नुभयो । केन्द्रिय समितिमा निर्वाचित पदाधिकारीलाई हेर्दा नेपाली कांग्रेस अब, युवाको उर्जावान पार्टी बनेको उहाँको भनाई छ । विचार गोष्ठीमा धारणा राख्दै नेताहरूले कांग्रेसले जनतालाई परिवर्तनको अनुभूति गराउनु पर्नेमा जोड दिए । नेपाली कांग्रेस विराटनगर महानगर समिति सभापति दीपक चपागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डा. डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, राजीव कोइराला, मोरङ उपभापति नागेश कोइराला, युवा नेता गुरुराज घिमिरे, भूपेन्द्र शाही, केदार कार्की लगायतले कांग्रेस एकढिक्का नभई लक्ष्य हाँसिल नहुने भएकाले पार्टीलाई एकढिका बनाउने अभियान चलाउन नेतृत्वलाई आग्रह गर्नुभयो ।
Discussion about this post