रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिममा ९ महिनाको अवधिमा प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट ६ करोड ९ लाख ४१ हजार बराबरको सामान राजश्व दाखिला गरेको छ ।
प्रहरीले ५ करोड ४६ लाख ६९ हजार २ सय ८९ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान (हरियो केराउ, बिभिन्न किराना सामान, हार्डवेअरको सामान,लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा तथा पशु तथा चौपायाजन्य) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको छ ।
यसैगरी यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ४७ वटा ट्याक्टर, २ वटा जेसिबी समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको जसबाट ८ लाख ४३ हजार ४ सय ३७ मुल्य बराबर राजश्व दाखिला भएको छ ।
त्यसैगरी यसै अवधीमा ३५ लाख ९० हजार श्रोत नखुलेको रकम सहित ४ जना व्यक्तीलाई पक्राउ गरी कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट ११ लाख ६२ हजार ७ सय ९३ मुल्य बराबरको अवैध काठ र ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको जडिबुटी समेत बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ ।
त्यस्तै अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, श्रोत नखुलेको रकम, अवैध काठ तथा जडिबुटी समेत गरी कुल जम्मा ६ करोड ९ लाख ४१ हजार २१ मुल्य बराबरको राजश्व दाखिला भएको प्रहरीले जनाएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट १७७ जना फरार अभियुक्त पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानीत जिल्ला अदालतमा पेश गरीएको छ । सम्मानित जिल्ला अदालतबाट २०४३ सालदेखि बिभिन्न मितिमा फैसला भई सजाय तोकी तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका बिभिन्न मुद्धाका फरार प्रतिवादी रहेका छन् । फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरीएको हो ।
पक्राउ पर्नेमा सबै भन्दा पुरानो २०४३ सालदेखि फरार रहेका १ जना वन मुद्धाका फरार अभियुक्त पनि छन्, निजलाई तत्काल सम्मानित जिल्ला अदालतबाट १ हजार १ सय ६ रुपैयाँ जरीवाना तोकिएको छ ।
सम्मानित अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा अधिकतम सजाय जवरजस्ती करणी मुद्धाका १ जना अभियुक्तको ९ बर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना तोकिएको छ भने अन्य अभियुक्तहरुको कसुर अनुसार कैद तथा जरीवाना तोकिएको छ । पक्राउ परेका १७७ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ५१ बर्ष ६ महिना ९ दिन कैद र २१ लाख ३० हजार ६ सय २५ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ परेका सबै फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालतमा पेश गरिसकिएको छ र सम्मानित अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । एसपी मनोज कुमार यादव नवलपरासी पश्चिम आएदेखि आफ्ना मातहतका सम्पुर्ण इलाका ,सिमा, चौकी र बिटमा कडा निर्देशन दिएको प्रहरी स्रोतले बताएको हो ।
Discussion about this post