सुनसरी । इटहरी वडा नं. ६ र ९ क्षेत्रमा पसेको जंगली चितुवा साढे ६ घण्टापछि नियन्त्रणमा लिइएको छ । इटहरी उपमहानगरपालिका ६ स्थित एकता टोलको एक घर भित्र फसेको चितुवालाई नियन्त्रणमा लिन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. १ र कोशी टप्पु बन्यजन्तु आरक्षको प्राविधिक टोली इटहरी आएको थियो । चितुवालाई बेहोस बनाउन डार्ट हानिएको थियो ।
बिहान करिब ६ बजे जुटबिकास टोलमा देखिएको चितुवा एकता टोलको नेरु चौधरीको घर भित्र फसेको थियो । चितुवा फसेको ठाँउमा प्राविधिक टोलीले घरलाई घेरा हालेर डार्ट हानेका थिए ।
डार्ट हान्ने क्रममा शसस्त्र प्रहरी र जनपद प्रहरीले बाहिरी सुरक्षा घेरा बनाएको थियो । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय, सुनसरीलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए । अब वन कार्यालयले कोशी टप्पु बन्यजन्तु आरक्षको सहयोगमा चितुवालाई चितवन राष्ट्रिय निकुन्ज पठाइने जनाइएको छ ।
नियन्त्रणमा लिइएको भाले चितुवा अन्दाजी ३५-४० केजी र २ बर्ष उमेर भएको डिभिजन वन कार्यालय, सुनसरीका निमित्त डिभिजनल वन आधिकृत गोपाल दाहालले जानकारी दिए । इटहरी उपमहानगर क्षेत्रमा यसरी जंगली चितुवा देखिएको सम्भवत पहिलो पटक भएको अनुमान गरिएको छ । इटहरीको उत्तरी क्षेत्रमा चारकोशे जङ्गल रहेको कारण जङ्गल खोला हुँदै चितुवा बजार क्षेत्र भित्र पसेको अनुमान गरिएको छ ।
Discussion about this post