मनोज तामाङ/धनकुटा । धनकुटा पाख्रिबास स्थित कृषि अनुसन्धान केन्द्रमा मुलाको बिऊ उत्पादन गर्ने मेशीन लिलामीबाट फिर्ता ल्याई वार्षिक दुई क्वीटल मुलाको विउ उत्पादन कार्य भइरहेको छ ।
कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख तथा वरिष्ठ बैज्ञानिक (एस ३) किट विज्ञ डा. गोविन्द प्रसाद तिम्सिनाले लिलामी भएको मेशीन फिर्ता ल्याएर मर्मत गरेर हाल सञ्चालनमा ल्याएको बताए ।
प्राविधि इन्द्रमाया गुरुङले भनिन् ‘बेलायत सरकार मार्फत आएको यो मेशीन लामो समयबाट बिग्रेको हुँदा लिलाम विक्रीमा थियो । पछि केन्द्र प्रमुखले मर्मत गराई सञ्चालनमा ल्याउनु भएको छ ।” त्यस्तै अर्का कर्मचारीले भने आफुलाई मेशीनका बारेमा थाह नभएको बताए । केन्द्र प्रमुख तिम्सिनाका अनुसार वार्षिक २ क्वीटल बिउ उत्पादन हुन्छ ।
२७ सय रोपनी भन्दा बढि क्षेत्रफलमा फैलिएको कृषि अनुसन्धान केन्द्रमा मेशीनको काम, महत्व बारेमा जानकारी नहुँदा मुलाको विउ पेल्ने थ्रेसर मेशीन कवाडीमा लिलामी भएको थियो । ब्रिटिस सरकारले अनुदान दिएको उक्त मेशीनको मर्मत गरेर पुनः प्रयोग भएको हो । कृषि अनुसन्धान केन्द्र पाख्रिबासमा मकै तथा विभिन्न साग सब्जीको विरुवा उत्पादन हुँदै आएको छ । फारमका नाममा परिचित उक्त केन्द्रमा बोका, बाख्रा, बंगुर, कुखुरा लगायतका पशुपंक्षीहरुको समेत उत्पादन हुँदै आएको छ ।
सरकारी कार्यालयमा मेशीन तथा अन्य साधनको मर्मत सम्भार नहुँदा मुलाको बिउ उत्पादन गर्ने मेशीन जस्तै अन्य मेशीन समेत थन्किएका छन् र कवाडीको भाउमा लिलामी भएका छन् ।
Discussion about this post