इनरुवा । सुनसरीको निर्वाचन क्षेत्र नंम्बर–५(२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले बुधबार मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको पाएपछि प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम आयोगले मेहताको उम्मेदवारी खारेज गरिदिएको हो ।
मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरी प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको आयोगले जनाएको छ ।
मेहताको उम्मेदवारी बदर भएपनि अब सो क्षेत्रमा नयाँ मतपत्र छपाइ भने नहुने भएको छ । आयोगले मेहताको चुनाव चिन्हमा मत परेको खण्डमा त्यस्तो मत स्वत बदर हुने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले आफूहरुले यहाँ परेको उजुरी आयोगमा पठाएको र त्यहीबाट खारेजी भएको जानकारी प्राप्त भएको प्रतिकृया दिनुभयो ।
Discussion about this post