इनरुवा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले घुमुवा प्रहरीको विवरण मागेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल मातहतका सादा -पोशाकका (घुमवा) विवरण गृह मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् ।
नेपाल प्रहरीले विशेष व्यूरो र सशस्त्र प्रहरी इन्टेलीजेन्स व्यरोको रुपमा कार्यरत रहेका प्रहरीलाई घुमुवा प्रहरी भनिन्छ । यसबाहेक कार्यालय प्रमुखले पनि सूचना संकलनका लागि घुमुवा प्रहरी राख्ने चलन रहेको छ कतिपय सन्दर्भमा घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको भन्दै विभागमा उजुरी पर्ने अवस्थामा उनीहरुलाई कारबाही गरिएको हुन्छ । तर यसपटक गृह मन्त्रालयले घुमुवा प्रहरीको विवरण मागेपछि भने दुवै प्रहरीलाई संकट परेको छ ।
‘कतिपय काममा गएका प्रहरीलाई घुमुवा भन्ने चलन छ तर उनीहरुको विवरण हामीले संगठनमा चुस्तदुरुस्त राखेका हुन्छौं अब नाम दिनुपर्ने अवस्था आएमा उनीहरुले मात्र होइन भावी दिनमा अरुले पनि काम गर्न मान्दैनन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘घुमुवाको रुपमा परिचालित जनशक्तिको विवरण माग गरिएको छ ।’
गृह मन्त्रालयले ती दुवै प्रहरी संगठनलाई हिजो लेखेको पत्रमा सादा पोशाकमा परिचालित प्रहरी कर्मचारीहरुको संख्या तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।
‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालअन्तर्गत सादा पोशाक (घुमुवा) को रूपमा परिचालित प्रहरी कर्मचारीहरू के कति संख्यामा परिचालित छन् यसरी खटाइएका प्रहरीहरू मापदण्डबमोजिम परिचालित हुन् वा होइनन् ।
गृहमन्त्रीले त्यस्ता घुमुवाको हालको अवस्था, खटिएका प्रहरीहरूको अवधिदेखि आधिकारिक रुपमा खटाइएका हुन् वा होइनन् ? भन्ने विषयसमेत पत्रमा उल्लेख गर्न लगाएका हुन्,’ मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ । साथै सो पत्रमा मन्त्रिस्तरीय निर्णय गरिएको भन्दै सबै विवरण पठाउन आग्रह गरिएको छ ।
‘आलोपालो बदलीको व्यवस्था के छ ? साथै कसको मातहतमा कसरी खटाइदै आएको छ । संघ, प्रदेश र जिल्लागत रूपमा उल्लिखित विवरणहरू तीन दिनभित्र उपलब्ध गराइदिनु हुन्,’ सो पत्रमा भनिएको छ । घुमुवाका कारण दुवै प्रहरी संगठन बदनाम भएको भन्दै सो विवरण मागिएको स्रोतले जनाएको छ ।
Discussion about this post