काठमाडौं । पुस १० मा नयाँ गठबन्धन बनेर सरकार निर्माण हुँदा राष्ट्रपतिको भाग नेकपा एमालको पोल्टामा परेको थियो ।त्यसयता नेकपा एमालेकै तर्फबाट र राष्ट्रिय सहमतिका नाममा कांग्रेस, जसपा, लोसपा तथा माओवादीबाटै पनि अनेकन नामहरु राष्ट्रपतिका लागि सिफारिस भए ।
अब मनोनयन दर्ताका लागि २ दिनमात्र बाँकी रहँदा विकल्पहरु साँघुरिदै गएका छन् । को–को बाँकी छन् त राष्ट्रपतिको दौडमा अब ?राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय घर्किदै गएको छ । राष्ट्रपतिमा सिफारिस र आकांक्षी दर्जनौँ नामहरु क्रमशः घट्ने क्रममा छन् ।
कांग्रेसभित्र रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, मानवहादुर विक लगाएतले राष्ट्रपतिमा आकांक्षा देखाएका थिए ।
विकल्प घटेर अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा अनौपचारिक निर्णय भइसकेको चर्चा छ । नेकपा एमालेले भने अझै राष्ट्रपतिको उम्मेदवारमा निर्णय लिन सकेको छैन ।
अध्यक्ष ओलीले एमालेले राष्ट्रपति पाउने पुस १० को सहमति बमोजिम आफुनिकट उम्मेदवारहरु, विशेषतः इश्वर पोखरेल, सुवास नेम्वाङ, डोरमणी पौडेल वा विष्णु रिमाललाई सिफारिस गर्ने चर्चा चल्ने गरेको छ । तर राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन नगर्ने प्रष्ट संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेपछि ओली हच्किएका छन् ।
राष्ट्रिय सहमतिको नाममा प्रधानमन्त्री प्रचण्डले अनेकन प्रयास थालेपछि ओलीले यसलाई काउण्टर दिन नेकपा एसका अध्यक्ष माधव नेपाललाई पार्टी एकताको सर्त सहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे । तर विगतमा भएका अविश्वासका कारण ओलीलाई सहजै विश्वास गर्न नेपाल डराएका छन् ।
ओलीको प्रस्तावमा वा पुरानो गठबन्धन ब्यूँतने जुनसुकै परिस्थितीमा पनि आफैँ राष्ट्रपति बन्नुपर्ने भन्दै नेपालले लबिङ गरिरहेका छन् ।
अर्कोतर्फ कांग्रेसले नै नेपाल समाजवादी पार्टीका अध्यक्ष पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गर्ने चर्चा पनि चलेको थियो, तर हाल त्यसको पनि सम्भावना सकिएको जस्तो देखिन्छ ।
यसको अतिरिक्त मधेशवादी दलहरुबाट पनि राष्ट्रपतिका लागि कसरत भएको थियो । विशेष गरि लोकतान्त्रीक समाजवादीका अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय सहमतिको राष्ट्रपति बन्ने आकांक्षामा भेटघाट बाक्लो बनाएका थिए । तर राष्ट्रिय सहमति भन्दापनि गठबन्धन विशेषबाट राष्ट्रपति बन्ने सम्भावना बढेपछि ठाकुर पनि सेलाएका छन् ।
जनता समाजावदी पार्टीले राष्ट्रपति भन्दापनि उपराष्ट्रपतिमा आकांक्षा देखाएको छ । यतिमात्रै नभई राष्ट्रपतिका लागि गैर दलीय व्यक्तिको चर्चा समेत उत्तिकै जोडबलका साथ नभएको भने होइन् ।
यसैको बलमा हुनुपर्छ, न्यायाधीश समाजले विज्ञप्ति नै जारी गरेर अवकाश प्राप्त न्यायाधीश राष्ट्रपति उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्ने दाबी नै गरेको छ ।
तर, अब राष्ट्रपतिमा मुख्य ३ वटा पात्रको प्रतिस्पर्धा रहेको देखिन्छ । ठुलो राजनीतिक उथलपुथल नआए प्रधानमन्त्री र कांग्रेसबिचको बुधवारको सहमति स्वरुप पुरानो गठबन्धन व्यूँतने र रामचद्र पौडेल राष्ट्रपति बन्ने सम्भावना बढी छ ।
वर्तमान गठबन्धन कायमै रहने अवस्थामा ओलीले माधव नेपाललाई फकाउन सके नेपालको सम्भावना पनि बलियो देखिन्छ ।
बिहिबार प्रधानमन्त्रीसँगको भेटमा माधव नेपालको प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुले यसको आधार पनि बलियो बनाएको छ ।
अथवा सरकारको नेतृत्वमा लचक बनेर प्रधानमन्त्री प्रचण्डले हालको गठबन्धन वा पुरानो गठबन्धन ब्यूँताएर पनि डाक्टर बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन सक्ने झिनो सम्भावना पनि सकिएको भने छैन ।
Discussion about this post