इनरुवा । काेशी प्रदेश स्थित सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीको गाडी चलाउने एक सवारी चालकलाई कामबाट निकालिदिएका छन् ।
श्रमदानका लागि प्रयोग गरिएको गाडी दुर्घटना भएको निहुँमा चालक तेजकुमार राईलाई निष्कासन गरिएको हो । मेयर राईले उक्त दुर्घटना र निष्काशनलाई लुकाउनसमेत खोजेको पाइएको छ ।
गत चैत २३ गते कोकाहा जाने क्रममा खानेपानी आयोजनाको सवारी दुर्घटना भएको थियो । दुर्घटनाको बेलामा गाडीको बिमा नवीकरण ‘फेल’ थियो । भोलिपल्ट हतारहतार झुटो विवरण पेश गर्न लगाएर नवीकरण गरेपछि उनलाई मेयरको ठाडो आदेशमा कामबाट निकालिएको हो ।
२३ गते नै गाडी दुर्घटनामा परेपनि २७ गतेमात्र दुर्घटना भएको भन्न लगाइएको थियो । हाकिमले अह्राएअनुसार गरेका चालक राईलाई वैशाख २ गतेदेखि हाजिर हुन दिइएन ।
हाजिर गर्न जादा मेयरसापको आदेश भन्दै हाजिर गर्न नदिइएको उनले गुनासो गरे । त्यसपछि उनी मेयर राईको कार्यकक्षसम्म पनि पुगे । तर राईले ‘तिमीसँग म केही बोल्दिनँ’ भन्दै नगर प्रहरी लगाएर कार्यकक्षबाट निकालेको दुःखेसो पोखेका छन् ।
मेयरले सवारी दुर्घटनाबारे कोही कर्मचारीले मिडियामा बोले कारवाही गर्ने चेतावनीसमेत दिएको सवारी चालक राईले बताए । जागिरबाटै निकालिदिएपछि भने बोल्न बाध्य भएको उनले बताए ।
उनले कोरोनाको समयमा आँट गरेर बिरामी तथा लासलाई गाडीबाट ओसारेका थिए । सामान्य त्रुटीका कारण सवारी दुर्घटना भएको र एक्कासी निष्काशन गर्दा आफू अन्यायमा परेको उनको भनाई छ ।
दुर्घटनामा परेको उक्त गाडी मर्मतका लागि अहिले दिइएको बताइएको छ । तर कहाँ दिइएको छ भन्नेसमेत खुलाइएको छैन ।
त्यसैपनि मेयर राईले घोषणा गरेको श्रमदान उपमहानगरपालिकाको आधिकारीक कार्यक्रम होइन । यो राईले थालेको अभियान हो । उक्त अभियानलाई बैठकबाट लेखेर लान वडाध्यक्षहरुले माग गर्दै आएका छन् । तर मेयर राईले अभियानलाई उपमहानगरपालिकाबाट टार्ढै राखेर सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा नगरका स्रोत साधनको दुरुपयोग भइरहेको समेत आवाज उठेको छ । त्यसैले दुर्घटनालाई ढाकछोप गर्न लागिएको हुनसक्ने बताइएको छ ।
Discussion about this post