सुबिन विश्वकर्मा / बराहक्षेत्र । सुनसरी बराहक्षेत्र ७ मा अबस्थित प्रगतिशिल दुग्ध उत्पादक सहकारीमा एक करोड ९३ लाख बराबरको रकम हिनामिना भएको महिनौं बितिसक्यो । यसबीचमा आफूहरूको बचत फिर्ता गरिदिन भन्दै बचतकर्ताहरुले पटकपटक सहकारीको ध्यानाकर्षण गराइसकेका छन् । बचतकर्ता सुमन राउत भन्छन्, ‘सहकारीले कुनै पनि हालतमा सकेसम्म चाडो हाम्रो बचत फिर्ता गरिदिनुपर्छ ।’
कृषकहरूबाट दुध संकलन गरेर बेच्ने उदेश्यले २०६१ सालमा स्थापित सहकारीले पछिल्लो केही समययता विभिन्न खाले ब्यापारी तथा संस्थाहरूबाट बचत समेत संकलन गर्न थाल्यो । सहज ब्याजदरमा ऋण पाउने अपेक्षामा बराहक्षेत्र ६, ७ र आसपासका थुप्रै ससाना व्यापारीहरुले बचत गर्न थाले । सुरुका केही समय आर्थिक पारदर्शिताकै परिस्थिति रहेको सहकारी संस्थामा पछिल्लो सात-आठ महिनायता खटपट सुरु भएको देखिन्छ ।
गत कात्तिकमा भएको आठौं साधारणसभाले दयाराम रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्यो । त्यसपछि समितिका केही पदाधिकारीले हिसाबकिताब खोज्न सुरु गरेपछि एकपछि अर्को गर्दै थुप्रै ‘फल्ट’हरु देखिएको र रकम हिनामिनाको तथ्य बाहिरिएको एक पदाधिकारीले नाम नबताउने शर्तमा बताए ।
आन्तरिक लेखा परिक्षण र अन्य हिसाबी प्रक्रियाबाट १ करोड ९३ लाख रकम हिनामिना भएको पत्ता लागेपछि यो विषयमा सतहमा छताछुल्ल भयो । समितिमाथि प्रश्न उठ्न सुरु भयो । त्यसपछि फाल्गुन १८ गते कार्यसमितिका उपाध्यक्ष बिष्णु घिमिरेको नेतृत्व छानबिन समिति गठन गरियो । बैशाख २८ गतेभित्र छानबिन प्रतिवेदन सार्वजनिक गरिसक्नु समयावधि तोकिएको भएपनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक भइसकेको छैन् ।
यसैबीच समितिका संयोजक घिमिरेले प्रारम्भिक प्रतिवेदन भने तयार भएको बताएका छन् । चार्टर्ड एकाउन्टेन्ट (सिए) लाई नियुक्त गरेर छानबिन सुरु गरिएको घिमिरेको भनाइ छ । प्रारम्भिक छानबिनअनुसार कार्यसमितिका अध्यक्ष दयाराम रेग्मी, ब्यबस्थापक शान्ता न्यौपाने पोखरेल र उनका श्रीमान, स्थानीय शिव कोइराला लगायतको नाममा रकम अपचलन भएको संयोजक घिमिरेले जनाए ।
‘सहकारीको बैंक खातामा भएको सबै पैसाहरु व्यवस्थापक, उहाँको श्रीमान, सञ्चालक समिति अदालतको नाममा पैसा निकालेको देखिन्छ ।’ घिमिरेले भने, ‘व्यवस्थापकको श्रीमानको नाममा ६ लाख २० हजार नगद निकालिएको छ भने दयाराम रेग्मीको नाममा २ लाख निकालिएको छ । ‘त्यस्तै, शिव कोइरालाको नाममा १ हजार ८ सय ८२ लिटर दुधको पैसा दुईपटक भुक्तानी दिएको देखिन्छ, जसको बजार मूल्य १ लाख ३७ हजार ३ सय ८६ रुपैयाँ हुन्छ । सहकारीको बैंकमा अहिले २ सय ७० रुपैयाँ रकम रहेको संयोजक घिमिरेले बताए । आउने असार २० गते सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्नेछौ, त्यसपछि नयाँ साधारणसभा बोलाएर नयाँ समिति बनाएर डेरी फेरि चलाउने सोचमा छौं, संयोजक घिमिरेले भनें ।
Discussion about this post