पाेखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वत जिल्लाका ८९ वटा उजुरी दर्ता भएका छन् । आयोगको पोखरा कार्यालयका अनुसार पर्वत जिल्लाका गत बर्ष बाँकी रहेका र यस बर्ष दर्ता भएका गरी कुल ८९ वटा उजुरी परेका छन् ।
८९ वटा उजुरी मध्ये ५६ वटा उजुरी भने पालिकाहरुको रहेको कार्यालयका प्रमुख अस्मान तामाङले जानकारी दिए । उजुरी मध्ये सवैभन्दा बढि स्थानीय तहका रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका अनुसार पर्वतका सातवटा स्थानीय तहका गरी ५६ वटा रहेका छन् भने बाँकी ३३ वटा अन्य सरकारी कार्यालयका रहेका छन् ।
अख्तियारमा धेरै उजुरी पर्नेमा कुश्मा नगरपालिका रहेको छ । अहिले २९ वटा उजुरी अख्तियारको पोखरा कार्यालयमा परेका छन् । ती मध्ये १३ वटा फछ्र्यौट भैसकेका छन् भने १९ वटा छानवीनको क्रममा छन् ।
त्यसैगरी फलेवास नगरपालिकाका ९ वटा उजुरी छन् । ती मध्ये ४ वटा उजुरी फछ्र्यौट भैसकेका छन् भने तीन वटा बाँकी रहेका छन् ।
जलजला गाउँपालिकाका गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी ९ वटा उजुरी परेका छन् । ती मध्ये २ वटा फछ्र्यौट भएका छन् । ७ वटा कारबाहीको प्रकृयामा छन् ।
पैयू गाउँपालिकाका २ वटा उजुरी रहेका छन् भने १ वटा फछ्र्यौट भैसकेको छ ।
यता महाशिला गाउँपालिकामा २ वटा उजुरी छानवीनको क्रममा छन् ।
मोदी गाउँपालिकाका १५ वटा उजुरी परेका छन् । ती मध्ये ४ वटा फछ्र्यौट भैसके भने ११ वटा प्रकृयामा रहेका छन् ।यसैगरी विहादी गाउँपालिकाका ३ वटा उजुरी परेका छन् । दुईवटा फछ्र्यौट भएका छन् भने १ वटा छानविनको क्रममा रहेको छ ।
स्थानीय तहका ५६ उजुरी मध्ये २७ वटा फछ्र्यौट भैसके भने २९ वटा बाँकी रहेका छन् । समग्र उजुरी मध्ये ३७ वटा फछ्र्यौट भैसकेका छन् भने ५२ वटा बाँकी रहेका छन् ।
अख्तियारमा परेका उजुरीमा सार्वजनिक खरिद ऐन विपरित बस्तु तथा सामान खरिद गरिएका उजुरी बढि रहेका छन् । त्यसैगरी अनुदानमुलक कार्यक्रममा भएको अनियमितता, राजश्व चुहावट, सामाजिक सुरक्षा भत्ता, अपाङ्गता परिचयपत्रमा दुरुपयोग, जग्गा अतिक्रमण, विद्यार्थीहरुको दिवा खाजा र छात्रवृत्ति रकम दुरुपयोग जस्ता शिर्षकमा उजुरी परेका छन् ।
त्यसैगरी नक्कली लाईसेन्स र लाईसेन्स नै नभएका व्यक्तिलाई शिक्षकमा नियुक्ति, दैनिक भ्रमण भत्ता, विकास निर्माणका काममा गुणस्तरहिन बस्तु प्रयोग तथा लगत इस्टिमेट अनुसार काम नभएका उजुरीहरु समेत परेको अख्तियार कार्यालय पोखराका प्रमुख तामाङले जानकारी दिए ।
Discussion about this post