इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा बजारका सुनचाँदी व्यवसायीको दोहोरो नागरिकता मुद्दामा भारतीय दुताबासमार्फत प्रमाण झिकाउने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले नागरिकता मुद्दामा तारेख राखेर अनुसन्धान गरिहेका ११ जना सुनचाँदी व्यवसायीहरुलाई एक–एक महिनामा कार्यालयमा हाजिर गराएर अनुसन्धान गर्ने क्रममा थप प्रमाण जुटाउन भारतीय दुतावासमार्फत प्रमाण झिकाउने तयारी गरेको हो ।
सुनसरी प्रशासनले भारतमा उनीहरुले कुनै सरकारी कागजपत्र वा नागरिकता, आधारकार्ड, भोटरकार्ड, रासनकार्ड र राहदानी जस्ता कुनै प्रमाणपत्र लिए नलिएको बारेमा भारतीय दुतावास मार्फत प्रमाण झिकाउन लागेको हो ।
दोहोरो नागरिकता मुद्धामा २०८१ बैशाख ३१ गते सोमबार तारेखमा हाजिर हुन बोलाइएका ११ जनाको मुद्धा अनुसन्धानका क्रममा अन्य प्रमाण कागजहरु समेत सुनसरी प्रशासनले जुटाएको छ ।
प्रशासनको नागरिकता फाँटले नागरिकता प्रमाणपत्र नम्बर र सो मितिमा नागरिकता प्रमाणपत्र लिदा पेश गरेको अनुसूची फारम र सोमा पेश गरेका कागजपत्रहरु नागरिकता अभिलेख शाखाबाट झिकाएर अनुसन्धान थालेको पाइएको छ ।
सो क्रममा दिलिप सोनारको नागरिकता दिलाउन सनाखतमा बस्ने उनका बुवा खटर सोनार, मञ्जु साहको सनाखतमा बस्ने पति बब्लुकुमार साह, श्रवणकुमार सोनारको सनाखतमा बस्ने सिताराम रौनियार, नवराज सिह र जलेवा खातुनको बारेमा थप अनुसन्धान गर्ने भएको छ ।
सलेन्द्र स्वर्णकारको सनाखतमा बस्ने इस्लाम खाँन, उपेन्द्र स्वर्णकारको सनाखतमा बस्ने चिनेश्वर मेहता, बब्लुकुमार साहको सनाखतमा बस्ने कमल सुवेदी, बद्रीप्रसाद लुइटेल र बासुदेव साहको बारेमा सुनसरी प्रशासनले अनुसन्धान थालेको हो ।
यसैगरि बिनोदकुमार सोनीको सनाखतमा बस्ने सुरेन्द्रप्रसाद यादव, तरुण साहको नागरिकतामा सनाखतमा बस्ने सुरेन्द्रप्रसाद यादव, शम्भु ठाकुरको नागरिकतामा सनाखतमा बस्ने मनोज ठाकुर, राजिव साहको सनाखतमा बस्ने बुवा विशेश्वरप्रसाद साहको समेत थप अनुसन्धान थालेको पाइएको छ ।
यससगै अमरजित झाको नागरिकतामा सनाखतमा बस्ने बुवा अजयकुमार झाको समेत नागरिकताको सक्कलप्रति अध्ययन थालेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा भारतीय नागरिक रहेका व्यक्तिले झुठा विवरण पेश गरि नेपाली नागरिकता लिएको उजुरीका आधारमा छानबिन थालेको सुनसरी प्रशासनले अनुसन्धानका क्रममा सनाखतमा बस्नेसमेत अनुसन्धान थालेको हो ।
सुनसरी प्रशासनमा १२ जना सुनचाँदी व्यवसायीसहित ८१ जनाले दोहोरो नेपाली नागरिकता प्रमाणपत्र लिएको उजुरी परेपछि अनुसन्धानका क्रममा प्रशासनले ८१ जनामध्ये केहीको हकमा अदालतमा मुद्दा चलिरहेको र केहीको हकमा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई फायलसहित पठाएको जनाएको छ ।
प्रशासनमा फायल रहेकामध्ये केहीलाई बयानका लागि प्रहरीमार्फत झिकाउने र केहीलाइ्र्र गृह मन्त्रालय कारवाहीका लागि पठाउने तयारीमा रहेको प्रशासनले जनाएको छ ।
सुनसरी प्रशासनमा सुनचाँदी व्यवसाय गर्दै आएका आरके ज्वेलरीका सञ्चालक शम्भु ठाकुर, जयलक्ष्मी ज्वेलरीका सञ्चालक उपेन्द्र स्वर्णकार, नागमणी ज्वेलरीका सञ्चालक दिलिप सोनी, मनोकामना ज्वेलरीका सञ्चालक बब्लु साह, आर्दश ज्वेलरीका सञ्चालक तरुण साह, गणेश ज्वेलरीका सञ्चालक श्रवन सोनी, मनोकामना ज्वेलरीकी सञ्चालिका मञ्जुदेवी साह, सोनु ज्वेलरीका सञ्चालक राजिव सोनी, जयमातादी ज्वेलरीका सञ्चालक अर्जुन सोनी, ओम लक्ष्मी ज्वेलरीका सञ्चालक अमरजित झा, न्यू पशुपति ज्वेलर्सका सञ्चालक शैलेन्द्र स्वर्णकार, शिव ज्वेलरीका सञ्चालक विनोद सोनी अनुसन्धानका क्रममा तारेखमा रहेका छन ।
यसबीचमा दोहोरो नागरिकता लिनेहरुले आफूहरुविरुद्धको अनुसन्धानलाई प्रभावित पारेर आफ्नो पक्षमा निर्णय गराउन सुनसरीका राजनीतिक दल र जनप्रतिनिधिसहित नागरिक समाजका अगुवाहरुलाई प्रयोग गरिरहेको गुनासो स्वयम जिल्ला प्रशासनका कर्मचारीहरुले गुनासो गरेका छन ।
जिल्ला प्रशासन कार्यालय सुनसरी स्रोतका अनुसार दोहोरो नागरिकता प्रकरणमा तारेखमा रहेका ब्यक्तिहरुले विभिन्न राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुमार्फत अनुसन्धानमा प्रभाव पार्ने गरी प्रशासनका अधिकृत र तल्लो तहका कर्मचारीहरुलाई भनसुन गर्ने, अनुसन्धान छिटो सक्न दवाव दिने कार्य गर्दै आएका छन ।
यस सँगसँगै प्रमाण संकलनका क्रममा समेत नेता र जनप्रतिनिधिहरुले विचैमा अनुसन्धान क्रमलाई रोकेर मुद्दा किनारा लाउनलाई विभिन्न शक्ति केन्द्रबाट दवाव सृजना गर्दै आएको कारण अनुसन्धानमा समस्या झेल्नु परेको कर्मचारीहरुले गुनासो गरेका छन ।
त्यस्तै केही नागरिक समाजका अगुवाहरुले समेत दोहोरो भूमिका खेलेर दोहोरो नागरिकता लिनेहरुलाई बोकेर हिडेको कारण अनुसन्धानमा थप दवाव झेल्नु परेको उनीहरुको भनाई छ ।
Discussion about this post