जयकृष्ण यादव /इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय अधिकारीहरुले सीमा स्तम्भको अनुगमन गरेका छन् । अनुगमनमा सहभागी पत्रकार देवराजा यादवका अनुसार सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ८ स्थित भाण्टाबारी क्षेत्रमा रहेको सीमा स्तम्भको अनुगमन गरिएको छ । शुक्रबार नेपालको भण्टावारी र भारतको भिनगर सीमामा पर्ने सीमा स्तम्भहरु अनुगमन गरिएको हो । सशस्त्र प्रहरी हरिपुर प्रस्तावित गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष अधिकारीको नेतृत्वमा सीमा स्तम्भ अनुगमन गरिएको छ । सशस्त्र प्रहरीको सीमा स्तम्भ अनुगमन समिति बैठक बसी सीमा स्तम्भको सुरक्षा, चोरी पैठारी नियन्त्रण, लागु औषध नियन्त्रण, विपद व्यवस्थापन, सूचना आदानप्रदान लगायतको विषयमा छलफल सहित अनुगमन गरिएको हो । त्यसैगरी भारतीय पक्षको ४५ औं बटालियन अन्तर्गत रहेका भारतीय एसएसपी राजेश कुमार र सशस्त्र प्रहरीका डिएसपी सन्तोष अधिकारी, नेपाल प्रहरीका वरिष्ठ सई जालेन्द्र बराल र स्थानीय जनप्रतिनिधि, मानव अधिकारकर्मी र सञ्चारकर्मी देवराज यादव, मिकाल आलम सहितको सहभागितामा सीमास्म्भको अनुगमन गरिएको जनाएको छ । त्यसैगरी नेपाल र भारतको सम्बन्ध प्रगाढ बनाई सीमा सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने उदेश्यका साथ नेपाली तथा भारतीय सुरक्षाकर्मीहरु दशगज्जा क्षेत्रमा नियमित अनुगमन तथा गस्ती गरिरहेको स्थानीय राजकुमार शर्माले बताए । देशकै सेवाको लागि सशस्त्र प्रहरी र भारतीय एसएसपी चौबिसै घण्टा दशगज्जा क्षेत्रमा गस्ती गरिरहेको सशस्त्र प्रहरी हरिपुर प्रस्तावित गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष अधिकारीले जानकारी दिए ।
Discussion about this post